कारागारमुक्त भएकै भोलिपल्ट रविले भने : ‘मलाई होइन, देशलाई न्याय चाहिएको हो’

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ५, शनिबार १५:३५

चितवन । कारागारबाट रिहा भएको भोलिपल्टै अर्थात् शनिबार पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका छन् ।

भरतपुरको ऐतिहासिक चौबीसकोठीमा नेपालको राष्ट्रिय झन्डा फहराउँदै उनले सम्बोधन गरेका छन् । पार्टी कार्यकर्तालाई भन्दा पनि देशको राजनीतिलाई लक्षित गर्दै उने भने, ‘चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ ।’ उनले आफूलाई भन्दा पनि देशलाई न्याय चाहिएको बताए ।

लामिछानेले चौबीसकोठीलाई इतिहास बोकेको स्थलको रूपमा स्मरण गर्दै आफूले अन्याय भोग्दा चितवनवासीले देखाएको साथलाई कहिल्यै नबिर्सने बताए । ‘मलाई अन्याय पर्दा तपाईंहरूले जुन साथ दिनुभयो, त्यो व्यक्तिगत समर्थन मात्रै होइन, परिवर्तनप्रतिको प्रतिबद्धता हो,’ उनले भने, ‘चितवनले रवि लामिछानेलाई होइन, देशलाई न्याय गर्नेछ ।’

उनको सम्बोधन भावनात्मक र राजनीतिक रूपमा समेत गहिरो थियो । देशले निकास खोजिरहेको वर्तमान अवस्थामा व्यक्तिगत पद, दल वा चुनाव चिह्नभन्दा ठूलो कुरा देश भएकोमा उनले जोड दिए । परिवर्तन चाहने शक्तिहरू एक ठाउँमा आउन तयार भए आफू सभापति पद मात्रै नभएर आवश्यक परे सिंगो पार्टी नै त्याग्न तयार रहेको घोषणा उनले गरे ।

‘म एउटा चुनावका लागि राजनीतिमा आएको मान्छे होइन,’ लामिछानेले भने, ‘म एउटा पुस्ताका लागि आएको हुँ । देश बनाउने कुरा ठूलो हो । पार्टी, चुनाव चिह्न, झन्डा, अफिस, सभापति, उपसभापति—जे चाहिन्छ, लैजानुस् । मलाई केही चाहिएको छैन, देश बन्नुपर्‍यो ।’ उनका अनुसार त्यागको पहिलो सूचीमा आफ्नो नाम पहिल्यै राखिसकिएको छ ।

तर त्यो त्याग १ चुनावका लागि भए स्वीकार्य नहुने बताउँदै उनले भने, ‘एउटा चुनावका लागि मात्रै हो भने, आई एम सरी ।’ चितवनको सभाबाट उनले मिल्नुपर्ने राजनीतिक शक्तिहरू अन्ततः मिलेरै अघि बढ्ने विश्वास पनि व्यक्त गरे ।

अहिले संवादको प्रक्रियामा रहेको बताउँदै उनले एकताको कुरा कुनै औपचारिक सम्झौताजस्तो सजिलै टुंगिने विषय नभएको उल्लेख गरे । ‘मिल्ने भन्ने कुरा टाउको ठोकेर मित लगाउने जस्तो होइन,’ उनले भने, ‘तर, मिल्नुपर्नेहरू अन्तिममा मिलेरै छाड्छौं ।’

लामिछानेले पछिल्लो जनआन्दोलन, विशेषगरी जेनजीको भूमिकालाई स्मरण गर्दै निर्वाचन नै देशको निकास भएको बताए । सरकारले जसरी पनि निर्वाचनको बाटो खोल्नुपर्ने र जनआन्दोलनबाट उठेका माग पूरा गर्न आँट गर्नुपर्ने उनको भनाइ थियो । ‘२४ गते जनआन्दोलन भएको हो,’ उनले भने, ‘जेनजीको रगत र बलिदानबाट उठेको सरकार हो भने जेनजीकै सपना पूरा गर्ने आँट राखोस् ।’

उनले रास्वपा जनताको मुद्दामा सरकारसँगै उभिने पार्टी भएको दाबी गरे । सुशासन, पारदर्शिता र जेनजीका माग पूरा गर्ने विषयमा सरकारले ढोका र झ्यालबाट चिहाउनुपर्ने अवस्था नभएको भन्दै सिधै अघि बढ्न आग्रह गरे । ‘जनताको साथ छ सरकारलाई,’ उनले भने, ‘जनताको मुद्दामा रास्वपा पनि सरकारको साथमा छ ।’

देशका संरचनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै लामिछानेले भौतिक संरचना पुनर्निर्माण गर्न सकिने तर जलेका सपनाहरू पुनर्जीवित गर्नु सबैभन्दा ठूलो चुनौती भएको बताए । ‘सिंहदरबार जले, न्यायालय जले । ती सबै फेरि बनाउँला,’ उनले भने, ‘तर, वर्षौंदेखि खरानी भएका हाम्रा सपना कसले बनाउँछ ? हामी आफैंले बनाउनु पर्छ ।’

आफू जेनजीहरूसँगै रहेको भन्दै उनले चिन्ता नगर्न आग्रह गरे । ‘जेनजी भाइहरू हो, रवि दाइ पनि साथमै छ,’ उनले भने, ‘हामी सबै जेनजीको सपना बोकेर अघि बढ्छौं ।’ चितवनको सभापछि लामिछाने जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई भेट्न काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.