एमालेलाई प्रचण्डको चुनौती, ‘बाहिर एउटा, भित्र अर्कै कुरा नगरी चुनावमा आऊ’

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ५, शनिबार १६:५४

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) ले बाहिर जेसुकै भने पनि भित्री रूपमा निर्वाचनकै तयारी गरिरहेको दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित ‘एकता सन्देश सभा’ लाई सम्बोधन गर्दै उनले एमालेको दोहोरो चरित्रमाथि प्रश्न उठाए ।

प्रचण्डका अनुसार एमालेले सार्वजनिक रूपमा अन्य कुरा गरे पनि उसको सबै ध्यान निर्वाचनतिरै केन्द्रित भइसकेको छ । उनले एमालेलाई ‘डबल स्ट्यान्डर्ड’ नदेखाउन र मुलुकको निकासका लागि घोषित निर्वाचन प्रक्रियामा इमानदार भएर सहभागी हुन आग्रह गरे ।

अध्यक्ष दाहालले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचन नै सबैभन्दा सहज र उत्तम विकल्प भएको बताए । नेपाली कांग्रेसले संस्थागत रूपमै निर्वाचनमा जाने निर्णय गरिसकेको र आम जनता पनि चुनावी माहोलका लागि मानसिक रूपमा तयार भइरहेको उनको बुझाइ छ । कतिपय शक्तिहरू अदालतमा गए पनि अन्तिम निकास निर्वाचन नै भएको भन्दै उनले अब सिङ्गो राष्ट्रलाई चुनावी प्रक्रियामा लैजान सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

अहिलेको राष्ट्रिय आवश्यकता बनिसकेकाले यसबाट कोही पनि पछि हट्न नहुने प्रचण्डको तर्क छ । उनले एमाले नेतृत्वलाई लक्षित गर्दै अनावश्यक अलमल नगरी चुनावी मैदानमा आउन चुनौती समेत दिए । उनले भने, ‘अहिले घोषणा भइसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो । एमाले बाहिर जेसुकै बोले पनि भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ। त्यसकारण डबल स्ट्यान्डर्डको कुरा नगरौँ, सिङ्गै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन एकजुट होऔँ ।’

आफ्नो पार्टी निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिँदै उनले सबै कम्युनिस्ट शक्तिहरूलाई एकै ठाउँमा उभिएर जनताको सामना गर्न समेत आह्वान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.