
काठमाडौं । संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षाको मौलिक हक कागजमै सीमित बन्दै गइरहेका बेला सर्वोच्च अदालतले त्यस्तो नगर्न परमादेश जारी गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाका सबै पालिका तथा सञ्जीवनी विद्यालयलगायतका विद्यालयहरूलाई विपक्षी बनाई दायर गरिएको रिटमा अदालतले विद्यार्थीसँग कुनै पनि शीर्षकमा शुल्क नलिनु-लिन नलगाउनु भनी परमादेश जारी गरेको हो।
रिट नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कार्य समिति काभ्रेपलान्चोक, बनेपाको तर्फबाट निवर्तमान अध्यक्ष मिलन गौतमले दायर गरेका हुन् ।
लामो समयदेखि विद्यालयहरूले भर्ना, परीक्षा, अतिरिक्त गतिविधिलगायत अनेक शीर्षकमा विद्यार्थी र अभिभावकहरूमाथि आर्थिक बोझ थोपर्दै आएको आरोप रिटमा उल्लेख गरिएको थियो । अनेरास्ववियु काभ्रेपलान्चोकले जिल्लाभर कानुन अध्ययनरत विद्यार्थी तथा हालका जिल्ला कमिटीका उपाध्यक्ष आयुष बडाल र सचिव प्रवीण पौडेलको नेतृत्वमा कानुनी सहायता तथा विद्यार्थी अधिकार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रमका क्रममा संविधानले निःशुल्क शिक्षा मौलिक हकको रूपमा सुनिश्चित गरे पनि व्यवहारमा विद्यार्थीहरूले सो हक प्राप्त गर्न नसकेको गम्भीर गुनासो व्यापक रूपमा आएको थियो ।
मुद्दाको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, वरिष्ठ अधिवक्ता अमर थापा, अधिवक्ता डा. मुकुन्द अधिकारी लगायतका कानुन व्यवसायीहरूले बहस प्रस्तुत गरेका थिए । बहसपछि अदालतले विद्यार्थीमाथि हुने कुनै पनि प्रकारको शीर्षकमा शुल्क असुली नगर्नु भन्ने स्पष्ट परमादेश जारी गरेको हो ।

























