
विराटनगर । विराटनगरका ठूला होटलभित्र सञ्चालित क्यासिनोमा प्रहरीले छापा मारेर २० जना नेपालीलाई पक्राउ गरेको छ । आइतबार राति मोरङ प्रहरीले होटल रत्नाभित्र रहेको गोल्डेन क्यासिनो र बिग होटलभित्र सञ्चालित च्याम्पियन जोन क्यासिनोमा छापा मारेको हो ।
प्रहरीका अनुसार रत्ना होटलबाट १४ र बिग होटलबाट ६ जना नेपाली पक्राउ परेका हुन् । पक्राउ पर्नेमा क्यासिनोका सञ्चालक, कर्मचारी र खेल्न पुगेका व्यक्तिहरू छन् । उनीहरू झापादेखि पश्चिम बैतडीसम्मका बासिन्दा भएको प्रहरीले जनाएको छ ।
रत्ना होटलको क्यासिनोबाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत (सोलुखुम्बु), मेचीनगर नगरपालिका-७ का रोशन गिरी, विराटनगर १ शान्ति चोकका कृष्णकुमार कुर्मी, विराटनगर-१ कै विवेककुमार मण्डल, काठमाडौंका राज लामा, इटहरी उपमहानगरपालिका-५ रुपेश दाहाल, सुन्दरहरैचा नगरपालिका-४ का आदेश बिक हुन् ।
पक्राउ पर्ने अन्यमा बुढीगंगा गाउँपालिका-२ का महमद जाकिर हुसेन, विराटनगर-१ का तेजराज गिरी, झापाको दमक नगरपालिका-४ का घनश्याम शर्मा, कटहरी गाउँपालिका-४ का सुरज राय, उदयपुरको चौदण्डीगढी गाउँपालिका-५ का सन्तोष बस्नेत, इटहरी-८ का प्रमोद घिमिरे, विराटनगर महानगरपालिका-७ का पवन गोस्वामी छन् ।
यस्तै, बिग होटलमा रहेको क्यासिनोबाट निर्देशकद्वय रामकृष्ण बस्नेत (काभ्रे) र हर भट्ट (बैतडी) सहित सुरेन्द्रबहादुर चन्द, विराटनगर-६ का खेम श्रेष्ठ, झापाको बिर्तामोड नगरपालिका-२ का मेदनी शिवाकोटी र विराटनगर महानगरपालिका-८ का साजन साह पक्राउ परेका छन् । पक्राउ परेकामध्ये कतिपयले क्यासिनोमा काम गर्ने दाबी गरे पनि उनीहरूसँग परिचय पत्र भेटिएको छैन ।
पक्राउ परेकामध्ये तेजराज गिरी पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ कलेजका शिक्षक हुन् । उनले प्रहरीसँगको बयानमा साथीभाइको सङ्गतले क्यासिनो जाने बानी परेको बताएका छन् । त्यस्तै, इटहरीका रुपेश दाहाल जेनजी आन्दोलनका अगुवा हुन् । उनले आफू क्यासिनोमा डान्सरको रूपमा काम गर्ने बताए पनि मोरङ प्रहरी प्रमुख कवित कटवालले उनीसँग कुनै परिचय पत्र फेला नपरेको जानकारी दिए ।
नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउनु कानुनी रूपमा बर्जित छ । कटवालका अनुसार कानुनविपरीत नेपालीलाई प्रवेश गराउने सञ्चालक र प्रवेश गर्नेहरू सबैमाथि जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।

























