
काठमाडौँ । मिटरब्याज, लघुवित्त तथा वित्तीय शोषण र भूमि असमानताका विरुद्ध विभिन्न आन्दोलनरत पक्षहरूले आज (सोमबार) राजधानीमा ‘मार्चपास’ गरेका छन् ।
भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन समितिले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले बल्खुबाट सुरु गरी त्रिपुरेश्वर, शहीदगेट हुँदै शान्तिवाटिकासम्म मार्चपास गरेका थिए ।
मोर्चाबन्दी र आगामी रणनीति आन्दोलनरत पक्षहरूले आफ्ना मागहरूबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । उनीहरूले वित्तीय शोषण र भूमिहीनका समस्या समाधानका लागि विभिन्न जनवर्गीय आन्दोलनहरूबीच कार्यगत मोर्चाबन्दी गरेर अगाडि बढ्ने घोषणा समेत गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, लघुवित्तको ऋण मिनाहा हुनुपर्ने र वास्तविक भूमिहीनलाई भूमिको अधिकार ग्यारेन्टी गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।

























