
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएको गुन तिर्न अदालत धाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।
ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई गुन लगाएको बताएका थिए । आफूले गुन लगाएपनि लामिछानेले बिर्सिएको उनको भनाई थियो ।
सोमबार काठमाडौं जिल्ला अदालतमा तारेख लिएर फर्किएका उनलाई पत्रकारले गुन लगाएको विषयमा सोधेका थिए । जवाफमा उनले ओलीले लगाएको गुन तिर्न अदालत धाइरहेको व्यंग्य गरेका हुन् ।
‘केपी ओलीले गुन लगाएको भन्नु भएको छ । त्यही गुन तिर्न अदालत धाइरहेको छु। सबै जिल्लामा महिनाको सातै दिन म जानुपर्ने छ,’ उनले भने, ‘जीउमा किला ठोकेजस्तो भएको छ अन्य अदालतमा जाँदैछु हाँजिर गर्नुपर्नेछ । म आज यहाँ आएँ अब एक हप्ताभित्र अन्यत्र पनि जाँदैछु । बिख शरीरभरि बाँकी नै छ ।’
























