
विराटनगर । विराटनगर महानगरपालिका-११ स्थित जनपथटोलको भित्री सडक खण्डमा आज (मंगलबार) बिहान दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ । बिहान करिब ७:३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र-१-०२-०५७ प २२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र-१-०४-००२ प ०९७६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा २२०३ नम्बरको मोटरसाइकलका चालक सुनसरी गढी गाउँपालिका-२ बस्ने २३ वर्षीय शेखर यादवको टाउको र मुखमा गम्भीर चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएकोमा थप उपचारका लागि बिहान ९:१० बजे नोबेल अस्पताल पठाइएको थियो । नोबेल अस्पतालमा चेकजाँचका क्रममा चिकित्सकले बिहान ९:२५ बजे उनलाई मृत घोषणा गरेका हुन् ।
त्यस्तै, ०९७६ नम्बरको मोटरसाइकलका चालक विराटनगर-११ बस्ने ३९ वर्षीय सुदन भट्टराई सामान्य घाइते भएका छन् । उनको दाहिने हातको औँला र खुट्टामा चोट लागेको छ भने थप उपचारका लागि उनलाई मोरङ सहकारी अस्पताल विराटनगर पठाइएको छ । घटना लगत्तै प्रहरी चौकी बखरीबाट प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुवै मोटरसाइकललाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय विराटनगरमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























