
विराटनगर । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री बद्रीप्रसाद मण्डलको ८८ वर्षको उमेरमा आज (मंगलबार) बिहान निधन भएको छ । विराटनगर महानगरपालिका–९ स्थित आफ्नै निवासमा उनको निधन भएका हो ।
पारिवारिक सदस्य जस्मिन मण्डलका अनुसार बिहान एकाएक स्वास्थ्यमा समस्या आएलगत्तै उनको मृत्यु भएको थियो । मण्डलको अन्त्येष्टिका लागि जहँदा गाँउपालिकास्थित मझारेमा रहेको पूर्खौली घरमा शव लगिएको छ ।
मण्डल राजतन्त्र र हिन्दुत्व पक्षमा थिए । २०४६ सालअघि राजा पक्षधर रहेका मण्डलले प्रजातन्त्र आइसकेपछि नेपाल सद्भावना पार्टीको नेतृत्व गरेका थिए । गजेन्द्र नारायणसिंहको निधनपछि सद्भावनाको नेतृत्व मण्डलले लिएका थिए ।
त्यसपछि उनी पूर्वराजा ज्ञानेन्द्र शाहलाई साथ दिदै शाहीकालीन उपप्रधानमन्त्री समेत बनेका थिए । २०४६ अघि राजतन्त्रका पक्षमा सक्रिय रहदै आएका मण्डल त्यसबेला विराटनगरका प्रभावशाली नेता मानिन्थे ।
बीचमा नेपाली कांग्रेसमा पनि आबद्ध भएका मण्डल अन्य राजनीतिक दल हुँदै पुनः राजावादी बनेका थिए । उनी राजेन्द्र महतो नेतृत्वको सद्भावनामा समेत वरिष्ठ नेता बनाइएका थिए । मण्डलका दुई श्रीमती, ४ छोरा र ३ छोरी छन् । परिवार निकट स्रोतका अनुसार ४ जनामध्ये एक छोराको निधन भइसकेको छ ।

























