प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा बुधबार पेशी

Share this
651shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ९, बुधबार ०८:४७

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर गरिएका रिटहरूमध्ये ६८ सांसदले संयुक्त रूपमा दायर गरेको पूरक रिटमा आज (बुधबार)का लागि सर्वोच्च अदालतमा पेशी तोकिएको छ ।

प्रतिनिधिसभा विघटनको संवैधानिक वैधतामाथि गम्भीर प्रश्न उठाउँदै दायर गरिएको पूरक रिटलाई राजनीतिक र संवैधानिक दृष्टिले अत्यन्तै महत्वका रूपमा हेरिएको छ । नेपाली कांग्रेसका ६५ सांसद र अन्य दलका ३ सांसदसहित जम्मा ६८ जनाले पूरक रिट दायर गरेका हुन् ।

मंगलबार सर्वोच्च अदालतमा वारेसमार्फत पूरक रिट दर्ता भएको हो । रिट दायर गर्नका लागि पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस प्रदान गरिएको थियो ।

यसअघि नै कांग्रेसका ८ सांसदले मंसिर २३ गते प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै छुट्टै रिट दायर गरिसकेका थिए । त्यसपछि थप ६० सांसद पनि एउटै मागसहित सर्वोच्च अदालत पुगेका हुन् ।

पूरक रिटमा नेपाली कांग्रेसबाहेक अन्य दल र स्वतन्त्र सांसदको समेत सहभागिता रहेको छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी तथा एक स्वतन्त्र सांसदले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्ने सांसदमध्ये जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल रहेका छन् । उनीहरू तीनै जना कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर गरेको बताइएको छ ।

यसअघि नै नेकपा एमालेका ७५ सांसदले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाइसकेका छन् । प्रतिनिधिसभामा २७५ सदस्य रहेकामा बहुमतका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

हालसम्म प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर बुझाउने सांसदको सङ्ख्या १४३ पुगेको छ । जुन स्पष्ट बहुमत हो । यस तथ्यले प्रतिनिधिसभा विघटनविरुद्ध संसदभित्रैबाट व्यापक असहमति रहेको सन्देश दिएको छ ।

बुधबारको पेशीलाई प्रतिनिधिसभा पुनर्स्थापनाको आन्दोलनमा निर्णायक मोडका रूपमा हेरिएको छ । सर्वोच्च अदालतको निर्णयले संसदको भविष्य, नेपालको संवैधानिक अभ्यास, शक्ति सन्तुलन र लोकतान्त्रिक संस्थाको स्थायित्वमाथि समेत दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.