वैचारिक निष्ठा र सांगठनिक कुशलताको जगमा ऋषिकेश पोखरेलको केन्द्रीय यात्रा

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ९, बुधबार १२:५६

विराटनगर । नेकपा (एमाले) को हालै सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनबाट मोरङका नेता ऋषिकेश पोखरेल लोकप्रिय मतका साथ केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । विद्यार्थी राजनीतिदेखि नै वैचारिक स्पष्टता र सांगठनिक सक्रियता देखाउँदै आएका पोखरेलले यो सफलतासँगै राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव थप सुदृढ बनाएका हुन् ।

महाधिवेशनको अत्यन्तै प्रतिस्पर्धात्मक मानिने खुल्ला तर्फबाट उम्मेदवारी दिएर पोखरेलले देशभरका प्रतिनिधिहरूको विश्वास जित्न सफल भए । पार्टीभित्रका विभिन्न राजनीतिक चुनौती र आन्तरिक समीकरणका बीच पनि उनले प्राप्त गरेको यो मतले उनको साङ्गठनिक पकड र नेता–कार्यकर्ता माझको लोकप्रियतालाई थप पुष्टि गरेको छ । प्रतिकूल परिस्थितिलाई अवसरमा बदल्न सक्ने क्षमता नै उनको राजनीतिक पहिचान बनेको छ ।

एमाले मोरङको नेतृत्व सम्हाल्दा पोखरेलले निकै जटिल समयको सामना गरेका थिए । विशेष गरी तत्कालिन नेकपाको विभाजन र त्यसपछिको राजनीतिक अस्थिरताका बीच पनि उनले जिल्लाको पार्टी संगठनलाई एकढिक्का र चलायमान राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे । २०७९ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दलहरूबीचको बलियो गठबन्धनका बाबजुद पोखरेलको नेतृत्वमा एमालेले मोरङमा सन्तोषजनक नतिजा ल्याउन सफल भयो । मोरङ-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने क्रममा उनले देखाएको चुनावी कौशल र जनतासँगको सामीप्यताले उनलाई एक स्थापित जननिर्वाचित नेताको रूपमा उभ्याएको छ ।

संसदीय राजनीतिमा पोखरेलले सार्वजनिक लेखा समितिको सभापतिको रूपमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । समितिको नेतृत्व सम्हाल्दा उनले केही महत्त्वपूर्ण र दीर्घकालीन प्रभाव राख्ने विषयहरूमा परिणाममुखी काम गरेका छन् । एनसेल बिक्री प्रकरण जस्ता ठूला आर्थिक मुद्दामा चासो, विद्युत प्राधिकरणको ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता विवादलाई निष्कर्षमा पुर्‍याउने प्रयास र सुशासनका पक्षमा लिएका अडानले उनको चर्चा थप चुलिएको हो ।

पोखरेलको राजनीतिक यात्रा २०४० सालमा सुनवर्षी माध्यमिक विद्यालयको अनेरास्ववियु प्रारम्भिक कमिटीबाट सुरु भएको हो । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापति हुँदै उनले विद्यार्थी आन्दोलनको नेतृत्व सम्हालेका थिए । पार्टी संगठनमा गाउँ कमिटी सचिव, इलाका कमिटी सचिव र दुई कार्यकाल जिल्ला सचिव हुँदै उनी मोरङ एमालेको ९ औँ अधिवेशनबाट निर्विरोध अध्यक्ष निर्वाचित भएका थिए । सामाजिक क्षेत्रमा समेत सक्रिय पोखरेलको यो केन्द्रीय यात्रालाई एमालेभित्र निष्ठा र निरन्तरताको प्रतिफलका रूपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.