
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले वर्तमान अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै माओवादीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार ढाल्नुपर्ने अडान राखेको हो ।
माओवादीले जेनजी विद्रोहको म्यान्डेट र भावनालाई सम्बोधन गर्न ‘आवश्यकताको सिद्धान्त’ प्रयोग गरी संविधान संशोधन गर्नुपर्ने माग अघि सारेको छ। राष्ट्रपतिलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘जनताका भावना र जेन–जीका आवाजलाई समयमै सुनिएन भने परिस्थिति फेरि विस्फोटक बन्न सक्छ ।’
माओवादीका मुख्य मागहरू यस्ता छन्:
वर्तमान अन्तरिम सरकार भङ्ग गरी तत्काल सर्वपक्षीय सरकार गठन गर्नुपर्ने।
भदौ २३ र २४ गते भएको गोलीकाण्ड र विध्वंसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने।
विभिन्न वर्ग, समुदाय र युवाका माग समेटेर संविधानको पुनर्लेखन र अग्राधिकार सहितको समाजवादी सङ्घीय ढाँचामा राज्यको पुनर्संरचना गर्नुपर्ने।
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने।
भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय नागरिक आयोग र फैसलाका लागि शक्तिशाली न्यायालय गठन गर्नुपर्ने।
भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गरी जन्मकैदको सजाय दिनुपर्ने।
कालोधन नियन्त्रण गर्न ५ सय र १ हजारका नोट खारेज गरी नयाँ नोट प्रचलनमा ल्याउनुपर्ने।
देशको स्वाधीनतामाथि भइरहेको वैदेशिक हस्तक्षेप र सांस्कृतिक आक्रमण बन्द गर्नुपर्ने।
माओवादीले यी मागहरू सम्बोधन गर्न १० दिनको अल्टिमेटम दिएको छ। यदि तोकिएको समयभित्र माग पूरा नभए सडक सङ्घर्षमा उत्रने चेतावनी समेत दिइएको छ।
























