
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
क्रिसमसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले प्रेम, शान्ति, करुणा र मानव कल्याणको सन्देश बोकेको यो पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र भाइचारा अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
इसाई धर्मगुरु येशु ख्रिष्टले देखाएको प्रेम, त्याग र क्षमाको मार्ग आजको समाजका लागि प्रेरणादायी रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । उनले मानव जातिबीचको एकता र सेवाभाव नै यो पर्वको मुख्य सन्देश रहेको बताएका छन् । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबै धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र चाडपर्वको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नु प्रदेश सरकारको दायित्व रहेको प्रष्ट पारे ।
विविधतायुक्त पहिचान बोकेको कोशी प्रदेशमा सबै समुदायबीच आपसी सम्मान, समझदारी र एकताको भावना अझ प्रगाढ हुँदै प्रदेशको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास समेत उनले व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्य प्राप्तिमा क्रिसमस पर्वले थप प्रेरणा दिने अपेक्षा गरिएको उल्लेख गरेका छन् ।

























