
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना २८ बुँदे माग र विभिन्न राष्ट्रिय मुद्दाहरूलाई लिएर कोशी प्रदेशको राजधानी विराटनगरबाट आन्दोलन चर्काउने भएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार यसअघि सञ्चालन गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिँदै शनिबारदेखि प्रदेशस्तरीय विरोध सभाहरू आयोजना गर्न लागिएको हो ।
जसपा नेपालले तय गरेको तालिका अनुसार पुस १२ गते कोशी प्रदेशको राजधानी विराटनगरबाट विरोध सभाको सुरुवात हुनेछ । त्यसैगरी, पुस १४ गते मधेश प्रदेशको जनकपुर, १५ गते वीरगञ्ज र पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विशाल विरोध सभाहरू आयोजना गरिनेछन् ।
विरोध प्रदर्शनको तयारीका लागि जसपा नेपालले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम र प्रदेश समितिहरूको अधिवेशन समेत सम्पन्न गरिसकेको छ । पार्टीले यसअघि नै संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहरहरूमा कोण सभा, प्लेकार्ड र ब्यानरसहितका प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालयहरू अगाडि शान्तिपूर्ण धर्ना जस्ता कार्यक्रमहरू सफलताका साथ पुरा गरिसकेको प्रचार विभागले जनाएको छ ।
पार्टीले उठाएका २८ बुँदे मागहरूमा संविधान संशोधन, पहिचानको मुद्दा, सुशासन, र जनजीविकाका सवालहरू प्रमुख रहेका छन् । जिल्लास्तरीय जनसभा र धर्नापछि अब प्रदेशस्तरमा जनदबाब सिर्जना गर्न जसपा नेपालले आफ्ना सबै शक्ति परिचालन गर्ने देखिएको छ ।
























