वैकल्पिक शक्ति निर्माणका लागि रवि र बालेनको सक्रियता

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १०, बिहीबार १३:१४

काठमाडौं । नयाँ राजनीतिक शक्ति निर्माणको प्रयासस्वरूप वैकल्पिक धारका नेताहरूबीचको छलफल तीव्र बनेको छ। बिहीबार कुपण्डोलस्थित कुमार बनेको निवासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहितका नेताहरू भेला भएका छन् ।

वैकल्पिक शक्ति निर्माणको यो संवादमा रास्वपा सभापति लामिछानेसँगै सांसद असिम शाह र नेता गणेश कार्की सहभागी छन् । यस्तै, काठमाडौंका मेयर शाह, कांग्रेस नेता सुनील शर्मा र ‘जेनजी’ अभियानका सुदन गुरुङ पनि छलफलमा जुटेका छन् । केही समयअघि मात्रै वैकल्पिक अभियानका अभियन्ता सागर ढकाल पनि सोही स्थानमा पुगेका छन् ।

यसअघि सोमबार राति रवि र बालेनबीच कमलपोखरीमा लामो समय संवाद भएको थियो । उक्त भेटमा रविले आगामी निर्वाचनपछि सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव राखेको चर्चा छ । त्यसको अर्को कार्यकालमा भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने विषयमा प्रारम्भिक छलफल भएको उनीहरू निकट स्रोतको दाबी छ ।

मेयर बालेन शाहले पछिल्ला केही दिनयता आफ्नो राजनीतिक सक्रियता ह्वात्तै बढाएका छन् । बुधबारदेखि उनले विभिन्न राजनीतिक शक्ति, स्वतन्त्र अभियन्ता र जेनजी अभियानका सदस्यहरूसँग शृङ्खलाबद्ध छलफल गरिरहेका छन् । आजै मात्र बालेनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलगायतका व्यक्तिहरूसँग समेत छुट्टै संवाद गरेका छन् ।

पछिल्लो समय पुराना दलहरू विरुद्ध नयाँ र वैकल्पिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने प्रयास स्वरूप यो भेला भएको बुझिएको छ। कुपण्डोलको यो छलफलबाट कुनै ठोस निष्कर्ष निस्कनेमा धेरैको चासो छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.