
इलाम । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले उम्मेदवार छनोट प्रक्रियालाई निकै तीव्रता दिएका छन् । यसै सन्दर्भमा नेकपा (एमाले) इलाम जिल्ला कमिटीले समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि ५ जना नेताहरूको नाम केन्द्रमा सिफारिस गरेको छ ।
पार्टी स्रोतका अनुसार समानुपातिक उम्मेदवारका लागि देबेन्द्र विश्वकर्मा, तारा गुरुङ, शकुन्तला लेप्चा, रिपल राई र कृष्ण श्रेष्ठको नाम सिफारिस गरिएको हो । समावेशी क्लस्टर र पार्टीमा उनीहरूको योगदानलाई आधार मानी जिल्ला कमिटीले यी नामहरू टुङ्गो लगाएको बुझिएको छ ।
यसअघि नै एमालेले इलाममा प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सुहाङ नेम्वाङ लगायतका नेताहरूलाई चुनावी मैदानमा उतार्ने निर्णय गरिसकेको छ । एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि जिल्लामा आफ्ना सम्भावित उम्मेदवारहरूको प्रारम्भिक छनोट गरिसकेको जनाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी सरगर्मी बढेको छ भने दलहरूले आ-आफ्नो सांगठनिक सक्रियतालाई गाउँगाउँसम्म पुर्याउन थालेका छन् ।
























