
विराटनगर । विराटनगर महानगरपालिकाको फोहोर विसर्जन स्थल (ल्याण्डफिल साइट) लाई लिएर उत्पन्न पाँच दिन लामो विवाद साम्य भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा भएको बहुपक्षीय छलफलमा लिखित सहमति भएसँगै बिहीबारबाट फोहोर ढुवानी पुनः सुरु भएको हो ।
विगत एक दशकदेखि वडा नम्बर ६ को ब्रम्हपुरामा फोहोर व्यवस्थापन गर्दै आएको महानगरले पुस १ गतेदेखि वडा नं. १६ स्थित दरैयामा रहेको आफ्नै जग्गामा फोहोर फाल्न थालेको थियो । तर, छिमेकी बर्जु गाउँपालिकाका बासिन्दाले स्वास्थ्यमा असर पर्ने भन्दै अवरोध गरेपछि विगत पाँच दिनदेखि महानगरको फोहोर उठ्न सकेको थिएन ।
के भयो सहमति ?
जिल्ला प्रशासन कार्यालयमा भएकाे छलफलमा विराटनगर–१६ का वडा अध्यक्ष उद्धवकुमार भुजेलको संयोजकत्वमा बर्जु गाउँपालिकाका प्रतिनिधि र स्थानीय सम्मिलित ‘अनुगमन समिति’ गठन गर्ने निर्णय भएको छ । सहमति अनुसार:
१. दुर्गन्ध फैलिन नदिन दैनिक केमिकल प्रयोग गर्ने ।
२. फोहोरलाई तत्काल माटोले पुर्नुपर्ने ।
३. विसर्जन केन्द्र जाने सडकलाई स्तरोन्नति गर्ने ।
४. फोहोर बोक्ने गाडीलाई अनिवार्य रूपमा त्रिपालले छोप्ने ।
५. वर्षायाममा केसलिया खोलाको पानी पस्न बैशाख नदिन तटबन्ध/पर्खाल निर्माण गर्ने ।
शान्तिका लागि वातावरण नेपालका व्यवस्थापक एकराज खनालका अनुसार सहमतिसँगै रोकिएका फोहोरका गाडीहरू विसर्जन केन्द्रतर्फ जान थालेका छन् । यदि सहमति अनुसार काम नभए पुनः अवरोध गर्ने चेतावनी स्थानीयले दिएका छन् ।
विराटनगर महानगरबाट दैनिक १०५ देखि ११५ मेट्रिक टनसम्म फोहोर संकलन हुन्छ ।

























