
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिमण्डल विस्तार गर्ने भएकी छन् । यस क्रममा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार शर्मालाई आज (शुक्रबार) दिउँसो २ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको छ । उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे आधिकारिक टुङ्गो नलागे पनि रक्षा वा परराष्ट्र मन्त्रालय मध्ये एक दिने सम्भावना बलियो छ । हाल यी दुवै मन्त्रालय प्रधानमन्त्री कार्की आफैँले सम्हाल्दै आएकी छन् ।
नेपाली सेनाका पूर्व उच्च अधिकारी शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा अनुभवी सैन्य रणनीतिकार र प्रशासकका रूपमा चिनिन्छन् ।
प्रधानमन्त्री कार्कीले केही दिनअघि शर्मालाई सरकारमा सहभागी हुन आग्रह गरेकी थिइन् । कुशल व्यवस्थापकीय क्षमता भएका शर्माको आगमनले फागुन २१ को निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनमा सरकारलाई थप बल पुग्ने विश्वास गरिएको छ ।

























