
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना राजनीतिक तथा संरचनागत मागहरूलाई केन्द्रमा राख्दै प्रदेशस्तरीय विरोध सभाको शृङ्खला शनिबार (आज)बाट सुरु गर्दै छ ।
जसपाको विरोध सभा कोशी प्रदेशको राजधानी विराटनगरबाट सुरु हुँदैछ । संघीयता कार्यान्वयनमा देखिएका समस्या, संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण र जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था लगायत २८ बुँदे माग अघि सार्दै आएको जसपा नेपालले विराटनगरबाट प्रदेशस्तरीय विरोध सभाको औपचारिक थालनी गर्ने भएको हो ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार लामो समयदेखि केन्द्रीय र स्थानीय तहमा उठाइँदै आएका मागहरूलाई थप संगठित र प्रभावकारी ढंगले सार्वजनिक दबाबका रूपमा अघि बढाउन प्रदेशस्तरीय विरोध सभाको निर्णय गरिएको हो । सोही कार्यक्रमअनुसार शनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा विरोध सभा आयोजना गरिएको छ ।
जसपा नेपालले संविधान जारी भएपछिको अभ्यासले समावेशी लोकतन्त्रको मूल मर्म पूरा गर्न नसकेको निष्कर्ष निकाल्दै आएको छ । पार्टीको ठहरमा निर्वाचन क्षेत्रको हालको संरचनाले जनसंख्याको समान प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको, कार्यकारी प्रणाली स्पष्ट नभएको र संघीय संरचनाभित्र प्रदेश तथा स्थानीय तहका अधिकारहरू निरन्तर संकुचित हुँदै गएको अवस्था छ ।
यही पृष्ठभूमिमा पार्टीले संविधान संशोधनलाई अपरिहार्य राजनीतिक एजेन्डाका रूपमा अघि सारेको छ । विराटनगरमा सुरु हुने प्रदेशस्तरीय विरोध सभा कार्यक्रम पुस १४ गते मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजना गरिनेछ भने पुस १५ गते वीरगञ्जमा विरोध सभा गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसपछि पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा प्रदेशस्तरीय विरोध सभा आयोजना गरिने पार्टीले जनाएको छ । यी सभाहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
पार्टीका अनुसार विरोध सभाहरू शक्ति प्रदर्शनका लागि मात्र नभई पार्टीले उठाएका राष्ट्रिय मुद्दाहरूलाई आम नागरिकसम्म स्पष्ट रूपमा पुर्याउने उद्देश्यले आयोजना गरिएका हुन् । जसपा नेपालले लामो समयदेखि राजनीतिक अस्थिरता, कमजोर शासन प्रणाली र केन्द्रित सत्ता संरचनाका कारण जनताको अपेक्षा पूरा हुन नसकेको आरोप लगाउँदै आएको छ ।
नेताहरुले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू नगरी राजनीतिक स्थायित्व सम्भव नभएको बताउँदै आएका छन् । यसअघि जसपा नेपालले संघर्षका कार्यक्रमअन्तर्गत संसदीय निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोण सभा तथा जनजागरण अभियान सञ्चालन गरिसकेको छ ।
पार्टीले आफ्ना माग र मुद्दा उल्लेख गरिएका प्लेकार्ड र ब्यानरसहित जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना, जिल्लास्तरीय विरोध सभा तथा जनसभासमेत आयोजना गरेको थियो । पार्टीले सातै प्रदेशमा प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ ।
साथै, पार्टी प्रदेश समितिहरूको अधिवेशन पनि सम्पन्न भइसकेको र त्यसले संगठनात्मक संरचनालाई थप सक्रिय बनाएको बस्नेतले जानकारी दिए । उनका अनुसार संगठन विस्तार र राजनीतिक एजेन्डालाई समानान्तर रूपमा अघि बढाउने रणनीतिअनुसार नै प्रदेशस्तरीय विरोध सभाको चरणबद्ध कार्यक्रम तय गरिएको हो ।
























