‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्छ’

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १२, शनिबार १७:१३

विराटनगर । जनता समाजवादी पार्टी नेपाल अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा लैजानुपर्ने बताएका छन् । जसपाले विराटनगरबाट सुरू गरेको प्रदेश स्तरीय सभालाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा स्थिरता ल्याउने बताएका हुन् ।

‘यो संसदीय प्रणाली नेपालका लागि उपयुक्त छैन, यसले राजनीतिक स्थीरता दिन सक्दैन, संसदीय प्रणाली भएर नै विगतको दश वर्षमा १४ पटक सरकार बन्यो, राजनीतिक अस्थिरताका कारण मुलुकको विकास हुन सकेन, अवरुद्ध भएर गयो,’ उनले भने,‘ संसदीय व्यवस्थालाई अन्त्य गरी जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्थामा जानुपर्छ ।’

यादवले शक्ति सन्तुलनको नयाँ मोडल प्रस्तुत गर्दै संसदलाई केवल कानुन निर्माण र बजेट तर्जुमा गर्ने थलो बनाउनुपर्ने धारणा राखे । “विज्ञहरूको टोली राखेर राष्ट्रपतिले सरकार चलाउनुपर्छ,” उनले थपे, “प्रत्यक्ष निर्वाचित कार्यकारी भए मात्र सरकार जनताप्रति उत्तरदायी हुन्छ र नीतिगत स्थिरता कायम हुन्छ ।”

वर्तमान निर्वाचन प्रणाली भ्रष्टाचारको जननी पनि भएकाे उनले बताए । संसारकै गरिब मुलुकहरू मध्येको एक नेपालमा संसारकै महँगो निर्वाचन प्रणाली थोपरिएको भन्दै उनले चिन्ता व्यक्त गरे । “अहिलेको निर्वाचन प्रणाली यति महँगो छ कि सामान्य र इमानदार व्यक्तिले चुनाव लड्ने कल्पना पनि गर्न सक्दैन,” उनले भने, “यो ‘खिचडी’ निर्वाचन प्रणाली हटाएर अब यस्तो व्यवस्था हुनुपर्छ जहाँ पार्टी र उम्मेदवारले चुनाव जित्नका लागि करोडौँ खर्च गर्न नपरोस् ।”

अध्यक्ष यादवले निर्वाचन प्रणालीमा सुधार नआएसम्म राजनीतिमा इमानदार व्यक्तिहरू विस्थापित हुँदै जाने र भ्रष्टाचारले संस्थागत रूप लिइरहने चेतावनी समेत दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.