
विराटनगर । पूर्वउपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको राजनीतिक एकताप्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई)ले आक्रोश व्यक्त गरेका छन् ।
दुवै नेताबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको केही समयमै आइतबार बिहान साम्पाङले सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश र निरन्तर स्ट्याटस सार्वजनिक गर्दै उक्त एकतालाई विदेशी हस्तक्षेपसँग जोडेर आलोचना गरेका हुन् । मेयर साम्पाङले रवि र बालेनबीच भएको सहमतिलाई राजनीतिक समझदारीभन्दा पनि ‘विदेशी चलखेललाई संस्थागत गर्ने प्रयास’का रूपमा व्याख्या गरेका छन् ।
उनले विदेशी चलखेललाई वैधता दिन गरिएको सम्झौता भनेका छन् । उनका अनुसार पछिल्ला वर्षहरूमा देशभित्र देखिएको अस्थिरता, आन्दोलन र हिंसाका घटनाहरू कुनै स्वतःस्फूर्त प्रक्रिया नभई नियोजित रूपमा अघि बढाइएका हुन् । जसमा केही राजनीतिक पात्रहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन् ।
साम्पाङले ती पात्रहरू अहिले सत्ता र कुर्सीका लागि एकआपसमा हातेमालो गरिरहेको आरोप लगाएका छन् । साम्पाङले नाम नलिए पनि आफ्नो भिडिओ सन्देशमा सहकारी प्रकरणदेखि विभिन्न विवादमा मुछिएका नेताहरू, एमसीसीजस्ता अन्तर्राष्ट्रिय सम्झौताका विषयमा भूमिका खेलेका पात्रहरू र अहिले सत्ता समीकरणका लागि सक्रिय व्यक्तिहरू भनेर स्पष्ट संकेत गरेका छन् ।
‘आज विदेशी हस्तक्षेप हामीले प्रत्यक्ष रूपमा महसुस गरिसकेका छौं,’ उनले भनेका छन्, ‘त्यसलाई लुकेर संस्थागत गर्न खोज्ने को हो भन्ने कुरा अब जनताले बुझिसकेका छन् ।’ मेयर साम्पाङले विशेष रूपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै गम्भीर आरोपहरू लगाएका छन् ।
उनका अनुसार पछिल्लो समय ‘जेनजी’ भनेर चिनिने युवापुस्तालाई आन्दोलनमा उक्साइयो, सडकमा भिडाइयो, मानिसहरु मरे, घाइते भए र देश अराजकतातर्फ धकेलिँदा पनि केही नेताहरू सार्वजनिक रूपमा जिम्मेवारी लिन अगाडि आएनन् । ‘त्यो व्यक्ति भित्रै लुकेर बस्छ, बाहिर निस्कने साहस गर्दैन,’ साम्पाङको आरोप छ, ‘तर, भित्रै बसेर विदेशी शक्तिसँगको सेटिङमा को प्रधानमन्त्री, को मन्त्री भन्ने खेल खेलिरहन्छ ।’
उनले जेनजी आन्दोलनका नाममा भएको गतिविधिप्रति पनि प्रश्न उठाएका छन् । साम्पाङका अनुसार ती आन्दोलनमार्फत सरकारमाथि दबाब त सिर्जना गरियो, तर त्यसपछि बनेको सरकारबाट युवाहरूले अपेक्षा गरेका कुनै पनि माग सम्बोधन भएनन् । ‘बरु, आन्दोलनमा सहभागी युवामाथि धरपकड भयो, दमन भयो र घाइते तथा मृतकप्रति राज्यको संवेदनशीलता देखिएन । यत्रो घटना भएपछि पनि जेनजीका पीडितहरूप्रति संवेदना देखाउनसम्म कोही गएन,’ उनले आक्रोश व्यक्त गरेका छन् ।
मेयर साम्पाङले अब प्रत्येक नेपालीले प्रश्न सोध्नुपर्ने समय आएको बताएका छन् । उनले आफ्नो सन्देशमा सिंहदरबार जलाइने अवस्था किन आयो, युवाहरू किन आन्दोलनमा धकेलिएका थिए, हिंसापछि जिम्मेवार नेताहरू किन मौन बसे र विदेशी शक्तिको प्रभाव किन यसरी देशभित्र गहिरिँदै गयो भन्ने प्रश्नहरू उठाएका छन् । उनका अनुसार यी प्रश्नहरूको उत्तर नखोजी नयाँ राजनीतिक गठबन्धनलाई स्वीकार गर्नु देशका लागि घातक हुन सक्छ ।
भिडिओ सन्देशसँगै साम्पाङले फेसबुकमा लेखेका विभिन्न स्ट्याटसहरूमा पनि रवि–बालेन एकतालाई लक्षित गर्दै कडा प्रहार गरेका छन् । उनले सिंहदरबार जलाउने चेतावनी दिने र त्यसलाई सामान्यीकरण गर्ने प्रवृत्तिप्रति सचेत गराउँदै ‘देश सिध्याउने विदेशी दलाल’ भन्ने शब्दसमेत प्रयोग गरेका छन् ।
जनतामा प्रत्यक्ष रूपमा जान, दुःख–सुख बुझ्न र संकटको बेला अगाडि उभिन नसक्नेहरूले प्रधानमन्त्री बन्ने सपना देख्नु नै विडम्बनापूर्ण भएको उनको टिप्पणी छ । रवि लामिछाने र बालेन शाहबीच शनिबार साँझदेखि सुरु भएको लामो छलफलपछि आइतबार बिहान करिब ४ बजे सम्झौता भएको थियो ।
सम्झौताअनुसार आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएको छ । पार्टीको नाम, झन्डा र चुनाव चिह्न भने रास्वपाकै रहनेछ । पार्टी नेतृत्व रवि लामिछानेकै हातमा रहने स्पष्ट गरिएको छ ।
यो एकतालाई कतिपयले वैकल्पिक राजनीतिक शक्तिको रूपमा हेरेका छन् भने हर्क साम्पाङजस्ता नेताहरूले यसलाई गम्भीर शंकाको दृष्टिले हेरिरहेका छन् । साम्पाङको प्रतिक्रिया पछि राजनीतिक समीकरणबारे थप बहस चर्किने संकेत देखिएको छ । जहाँ देशको सार्वभौमिकता, विदेशी प्रभाव र नेताहरूको नैतिक जिम्मेवारी प्रमुख मुद्दा बन्ने देखिन्छ ।
























