कमल थापा बारे राजेन्द्र लिङ्देन : झोकाझोकमै छाडेर जानुभाथ्यो, अहिले फर्कायौं

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १३, आइतबार १५:१३

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्ष कमल थापा पुनः पार्टीमा फर्कने बताएका छन् ।

राप्रपा मोरङ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आपसी मनमुटाव त्यागेर थापा घर फर्कन सहमत भएको बताएका हुन् ।

पार्टीभित्रको एकतामा जोड दिँदै लिङ्देनले भने, “कमल दाई (कमल थापा) झोकाझोकमै पार्टी छाडेर हिँड्नुभएको थियो । अहिले हामीले कुराकानी गर्‍यौँ, उहाँ घर फर्कने टुङ्गो भयो । उहाँलाई हामीले फर्कायौँ ।”

उनले अन्य रुष्ट नेता-कार्यकर्ताहरूलाई पनि पार्टीमा फर्कन आह्वान गर्दै अब विवाद गरेर बस्ने समय नभएको स्पष्ट पारे ।

अध्यक्ष लिङ्देनले पार्टीभित्रको आन्तरिक कलहले संगठन कमजोर हुने चेतावनी दिए । संगठन सुदृढीकरणमा नलागी आपसमा लडेर बसे भविष्य अन्धकार हुने उनको तर्क थियो । “हामी जे जति छौँ, आपसमै लडेर बस्ने हो भने भोलि कसैले पत्याउने मात्र होइन, मर्दा झण्डा ओढाउने मान्छे पनि हुँदैन,” उनले भने, “चुनाव जित्ने र आन्दोलन पार लगाउने कुरा त झन् टाढाको विषय बन्छ । त्यसैले कसलाई दुःख दिन पाइन्छ भनेर कमजोरी खोज्ने बेला यो होइन ।”

अध्यक्ष लिङ्देनले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा रहेका सबै शक्तिहरूलाई राप्रपामा गोलबन्द हुन आग्रह गरे ।

राप्रपा कमजोर भएर राजसंस्था पुनःस्थापना हुन नसक्ने दाबी गर्दै उनले भने, “अब राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ र संघीयता चाहिँदैन भन्नेहरूको साझा घर राप्रपा हो । आफ्नै जीवनकालमा देश बनेको देख्न चाहने हो भने राप्रपामा जोडिनुको विकल्प छैन ।”

उनले केन्द्रदेखि स्थानीय तहसम्मै पार्टीलाई एकढिक्का बनाउने अभियान सुरु भएको बताउँदै समान विचार भएकाहरूलाई मिलाउने कार्य तीव्र पारिएको जानकारी समेत दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.