
विराटनगर । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) नेता ओसिम आलमले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको सिफारिस सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ सिफारिस भएका आलमले पार्टीको केन्द्रीय सर्कुलर विपरित सिफारिस भएको भन्दै नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।
जिल्ला कमिटीले क्षेत्र नम्बर ६ मा उम्मेदवार छनोटका लागि आलमसहित उपेन्द्र राय, दीपककुमार ढकाल, सोनेलाल राजवंशी, विनोद घिमिरे, सञ्जुकुमारी साह र मो. परवेज आलमको नाम केन्द्रमा सिफारिस गरेको थियो ।
केन्द्रले खुलातर्फ बढीमा ३ जना, महिला १ र जनजाति १ गरी कुल ५ जनाको मात्र नाम पठाउन निर्देशन दिएको थियो ।
जिल्लाले केन्द्रको सोही निर्देशन विपरित संख्या बढाएर नाम पठाएपछि आलमले असन्तुष्टि व्यक्त गरेका हुन् । आलमले सामाजिक सञ्जालमार्फत आफ्नो असहमति सार्वजनिक गरेका हुन् ।
‘केन्द्रको सर्कुलर भन्दा बाहिर गएर गरिएको सिफारिस मा मेरो पनि नाम देखेँ, विधि, पद्धति र पार्टीको निर्णय भन्दा बाहिर गएर गरिएको सिफारिसको म घोर भत्सना गर्दै सिफारिसबाट मेरो नाम हटाईदिन आग्रह गर्दछु,’ पारिवारिक कामले भारतमा रहेका आलमले सामाजिक सञ्जालमा लेखेका छन्,‘प्रचारबाजीको लागी गरिने सिफारिसमा म नरहेको जानकारी गराउन चाहन्छु ।’
























