
काठमाडौं । देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव देखिन थालेसँगै सोमबारदेखि विभिन्न भूभागमा फरक–फरक खालका मौसमी अवस्था देखिने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी तराई क्षेत्रमा हुस्सु र कुहिरोले प्रभाव जमाउनेछ भने पहाडी र हिमाली भूभागमा आंशिक बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सोमबार बिहानदेखि नै तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
जसका कारण दैनिक जनजीवनमा असहजता ल्याउने देखिएको छ । चिसो थप बढ्न सक्ने भएकाले बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ ।
कुहिरोका कारण दृश्यता घट्ने भएकाले सडक यातायातमा सावधानी अपनाउनुपर्ने अवस्था रहनेछ भने हवाई यातायातमा समेत आंशिक अवरोध आउन सक्ने सम्भावना छ । देशको पहाडी तथा हिमाली भूभागमा भने मौसम आंशिक बदली रहने अनुमान गरिएको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । ती क्षेत्रमा तापक्रम थप घट्न सक्ने र उच्च हिमाली भेगमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ ।
हिमपातको सम्भावनाले पहाडी एवं हिमाली जिल्लाका बासिन्दा तथा यात्रुहरूलाई चिसोबाट जोगिन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । मौसमविद्हरूका अनुसार यो अवस्था केही समय कायम रहन सक्ने देखिन्छ ।
पश्चिमी वायु सक्रिय भइरहेसम्म बिहान र बेलुकीको समय चिसो बढ्ने, तराईमा कुहिरो लाग्ने तथा पहाड र हिमालमा वर्षा एवं हिमपातको रहन्छ । यसले कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष असर पार्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई मौसमको अद्यावधिक जानकारीमा ध्यान दिन अनुरोध गरिएको छ ।

























