
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले गम्भीर राजनीतिक मोडमा उभिएको भन्दै यस अवस्थाबाट सहज र सुरक्षित निकास दिने सबैभन्दा भरपर्दो उपाय निर्वाचन नै भएको स्पष्ट पारेका छन् ।
उनले निर्वाचनलाई टार्ने वा अन्य विकल्पतर्फ जाने प्रयासले देशलाई फेरि अस्थिरता र दुर्घटनातर्फ धकेल्न सक्ने चेतावनीसमेत दिए । स्वतन्त्र विद्यार्थी युनियन, बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित पूर्वस्ववियू सभापति, क्रियाशील संघ–संगठनका अध्यक्ष तथा पूर्वअध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मान, नव आगन्तुक विद्यार्थी स्वागत तथा सांस्कृतिक कार्यक्रम–२०८२ लाई सोमबार सम्बोधन गर्दै दाहालले देशको राजनीतिक परिस्थिति सामान्य अवस्थामा नरहेको उल्लेख गरे ।
उनले अहिले धेरै कुरा सार्वजनिक रूपमा भन्नुभन्दा पनि मुलुकलाई संकटबाट बाहिर निकाल्ने साझा उपायमा केन्द्रित हुनुपर्ने धारणा राखे । दाहालले वर्तमान राजनीतिक परिवेशबारे बोल्दै निर्वाचन अब टाढा नरहेको र हाल देखिएको जनचासो तथा असन्तुष्टिको पृष्ठभूमिमा जनताको मतमार्फत नै समस्या समाधान खोजिनुपर्ने बताए ।
जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिलाई उल्लेख गर्दै उनले लोकतान्त्रिक प्रक्रियाबाटै अगाडि बढ्नु आजको आवश्यकता भएको जिकिर गरे । उनका अनुसार यदि निर्वाचनभन्दा बाहिरका विकल्पतर्फ देशलाई धकेलियो भने त्यसले थप अराजकता, अनिश्चितता र अस्थिरता जन्माउने खतरा रहन्छ ।
उनले देशको संकट कुनै एक शक्ति वा समूहले मात्र समाधान गर्न नसक्ने भन्दै राष्ट्रिय एकताको आवश्यकता औंल्याए । राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था, पत्रकार तथा सचेत नागरिकहरूको सामूहिक प्रयासबिना देशलाई अहिलेको जटिल अवस्थाबाट बाहिर निकाल्न सम्भव नहुने उनको भनाइ थियो । दाहालले समाजमा फैलिन सक्ने अराजकता, निराशा र भयको वातावरणलाई तोड्ने जिम्मेवारी सबैको साझा भएको स्पष्ट गरे ।
विशेषगरी युवा र विद्यार्थीको भूमिकालाई दाहालले निर्णायक माने । पछिल्लो समय युवापुस्ता राजनीतिप्रति उदासीन हुँदै गएको भन्ने धारणा गलत सावित भएको उनको भनाइ थियो । जेनजी आन्दोलनले युवाहरु, विशेषगरी नवयुवाहरु देशको अवस्था बुझ्ने, प्रश्न गर्ने र परिवर्तन चाहने चेतनशील शक्ति भएको प्रमाणित गरेको उनले बताए ।
अहिलेको अवस्थामा युवाहरुको काँधमा देशको भविष्यसँग जोडिएको ठूलो जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवार, सचेत र लोकतान्त्रिक बाटो रोज्न युवाहरुलाई आह्वान गरे । कार्यक्रममा शिक्षा, खेलकुद, संगठन र समाजसेवाका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
साथै, क्याम्पसमा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । कार्यक्रमको समापनमा विविध सांस्कृतिक कार्यक्रम गरिँदा क्याम्पस परिसरको वातावरण उत्साहपूर्ण बनेको थियो ।
























