बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिका केन्द्रीय नेताहरू रास्वपामा प्रवेश गर्दै

Share this
830shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १५, मंगलबार ०७:२१

विराटनगर । डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीका केन्द्रीय नेताहरु आज (मंगलबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्दैछन् ।

नयाँ शक्ति पार्टीको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सचिव भरत दाहालसहित केन्द्रीय सदस्य तेजलाल कर्ण (मोरङ), कैलाश बानिया (ताप्लेजुङ), तत्कालीन प्रदेश १ का पार्टी सहसचिव अमरेशकुमार मेहता (सुनसरी)लगायतका नेताहरू रास्वपामा प्रवेश गर्ने भएका हुन् । उनीहरूको पार्टी प्रवेश कार्यक्रम दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरिएको छ ।

विभिन्न कालखण्डका राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आएका नेताहरूले वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै अब राष्ट्र र राष्ट्रियताप्रतिको आफ्नो भूमिका के हुने भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा रास्वपा रोजेको जानकारी मेहताले दिए । रास्वपामा प्रवेश गरेर आगामी राजनीतिक यात्रालाई नयाँ ढंगले अगाडि बढाउने निर्णयमा पुगिएको उनको भनाइ छ ।

राजनीतिक परिवर्तनका विभिन्न चरणमा संलग्न हुँदै आएको दाबी गर्ने नेताहरूले हालको राजनीतिक संरचना, दलहरूबीचको गठजोड र वैचारिक दिशाप्रति गम्भीर प्रश्न उठाउँदै वैकल्पिक राजनीतिक शक्तिको खोजीका क्रममा रास्वपातर्फ मोडिएको बताएका छन् । पछिल्लो समय डा. बाबुराम भट्टराईले जनार्दन शर्मा, सुदन किराँतीलगायत नेताहरू सम्मिलित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँग गरेको एकता तथा सहकार्यप्रति उनीहरू असन्तुष्ट रहँदै आएका थिए ।

बाबुरामले प्रलोपा रोजेपछि तत्कालीन नयाँ शक्तिका केन्द्रीय सचिवसहितका नेताहरुले उनको साथ छाडेका हुन् । बाबुरामको पछिल्लो कदमप्रति असहमति जनाउँदै उनीहरू रास्वपामा प्रवेश गर्ने निष्कर्षमा पुगेका छन् ।

नयाँ शक्तिमा हुँदा केन्द्रीय सचिवको जिम्मेवारी सम्हालेका भरत दाहाललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा केन्द्रीय सदस्यका रूपमा मनोनीत गरिएको थियो । तर, उनले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

रास्वपा प्रवेश गर्ने अन्तिम तयारीमा रहेकामध्ये मेहताको राजनीतिक जीवन माओवादी पृष्ठभूमिबाट सुरु भएको हो । तत्कालीन विद्रोही माओवादी भूमिगत रहँदा उनी सुदन किराँतीसँगै मोरङमा जेल परेका थिए । लामो समय राजनीतिक संघर्षमा बिताएका मेहताले आफ्नो बौद्धिक क्षमतालाई पाखा लगाएर डा. बाबुराम भट्टराई केही स्वार्थ समूहको प्रभावमा परेको आरोपसमेत लगाएका छन् ।

उनका अनुसार १२ वर्षसम्म गरिएको संघर्षसँगै नयाँ शक्ति र वैकल्पिक शक्तिको नारा उठाइए पनि जीवनको उत्तरार्धमा आइपुग्दासम्म बाबुरामबाट ठोस उपलब्धि प्राप्त हुन सकेन । यही पृष्ठभूमिमा आफूहरूले अब पुराना अभ्यास र समझदारीबाट अलग भएर नयाँ राजनीतिक बाटो रोज्नुपर्ने निष्कर्ष निकालेको मेहताको भनाइ छ ।

रास्वपामा प्रवेशमार्फत नेताहरुले वर्तमान राजनीतिक निराशा, वैचारिक विचलन र जनअपेक्षाबाट टाढा हुँदै गएको दलगत राजनीतिलाई चुनौती दिने प्रयास गर्ने संकेत दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.