
काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथामा बढ्दो फोहोर व्यवस्थापन गर्न भन्दै ११ वर्षअघि लागू गरिएको ‘डिपोजिट–फिर्ता’ प्रणाली अन्ततः असफल ठहरिँदै खारेज हुने अवस्थामा पुगेको छ ।
पर्वतारोहणपछि निश्चित मात्रामा फोहोर तल ल्याए धरौटी रकम फिर्ता दिने उद्देश्यसहित सुरु गरिएको यो व्यवस्था कागजमा प्रभावकारी देखिए पनि व्यवहारमा सगरमाथाको फोहोर घटाउन पूर्णतः असफल भएको सरकारी निष्कर्ष छ । पर्यटन विभागले पर्वतारोहण क्षेत्रमा फोहोरको अवस्था झनै जटिल बन्दै गएको र धरौटी प्रणालीले वास्तविक सुधार ल्याउन नसकेको ठहर गर्दै यो नीति हटाउने तयारी थालेको हो ।
बीबीसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै विभागले अब नयाँ, व्यावहारिक र निगरानीयुक्त प्रणाली ल्याउने संकेत गरेको छ । यो व्यवस्था अनुसार सगरमाथा आरोहण अनुमति लिने प्रत्येक विदेशी आरोहीले ४ हजार अमेरिकी डलर धरौटी बुझाउनुपर्ने प्रावधान थियो ।
आरोहण सम्पन्न गरेपछि कम्तीमा ८ केजी फोहोर आधार शिविरसम्म ल्याएमा मात्रै उक्त धरौटी फिर्ता पाइने नियम बनाइएको थियो । आरोहीलाई आफ्नै फोहोर आफैँ तल ल्याउन बाध्य बनाउने उद्देश्य थियो । तर, नियम लागू भएको १ दशकभन्दा बढी समय बितिसक्दा पनि सगरमाथाको माथिल्लो क्याम्पहरूमा फोहोरको पहाड उस्तै छ ।
सरकारी तथा गैरसरकारी अध्ययनअनुसार हाल सगरमाथा क्षेत्रमा करिब ५० टनसम्म फोहोर थुप्रिएको अनुमान गरिएको छ । यसमा खाली अक्सिजन सिलिन्डर, च्यातिएका टेन्ट, डोरी, प्लास्टिकका प्याकेट, क्यान, बोतल र बिग्रिएका उपकरणहरू छन् । यीमध्ये अधिकांश फोहोर खुम्बु आइसफलभन्दा माथिल्लो क्याम्पहरू—क्याम्प–२, क्याम्प–३ र क्याम्प–४ आसपास छाडिएको पाइन्छ । जहाँबाट फोहोर तल झार्नु जोखिमपूर्ण, महँगो र कठिन मानिन्छ ।
पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार यो प्रणालीले फोहोर व्यवस्थापनभन्दा बढी प्रशासनिक झन्झट मात्र थप्यो । ‘कागजमा हेर्दा अधिकांश आरोहीले ८ केजी फोहोर ल्याएर धरौटी फिर्ता लिएको देखिन्छ । तर, वास्तविक समस्या जहाँ छ, त्यहाँ फोहोर घटेको छैन,’ उनी भन्छन्, ‘नीति नै त्रुटिपूर्ण थियो भन्ने देखाउँछ ।’
सरकारी तथ्यांकले पनि यही कुरा पुष्टि गर्छ । विगतका अधिकांश आरोहण सिजनमा धरौटी रकम फिर्ता नलिने आरोहीको संख्या नगण्य छ । यसको अर्थ नियमअनुसार फोहोर ल्याएको देखाइए पनि त्यो फोहोर कुन क्षेत्रबाट ल्याइयो भन्ने प्रश्न अनुत्तरित छ । यही कमजोरीलाई औँल्याउँदै सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पा भन्छन्, ‘आरोहीहरूले प्रायः तल्लो क्याम्प वा आधार शिविर वरपरको फोहोर मात्र जम्मा गरेर ल्याउँछन् । सबैभन्दा धेरै भएको ठाउँको फोहोर छोइँदैन ।’
उनका अनुसार धेरै आरोहीहरूले खाली अक्सिजन सिलिन्डर बाहेक अरू सामग्री टेन्ट, खाद्य सामग्रीका प्याकेट, इन्धनका क्यान, बिग्रिएका उपकरण माथि नै छाड्ने गरेका छन् । जोखिम, समय र अतिरिक्त खर्चका कारण गाइड र आरोही दुवै माथिल्लो क्षेत्रबाट फोहोर झार्न अनिच्छुक देखिन्छन् । नीति निर्माण गर्दा व्यवहारिक पक्षलाई बेवास्ता गरिएको उनीहरूको गुनासो छ ।
औसतमा १ जना आरोहीले करिब ६ हप्तासम्म चल्ने सगरमाथा आरोहण अवधिमा झन्डै १२ किलो फोहोर उत्पादन गर्ने विभिन्न अध्ययनले देखाएका छन् । तर, नियममा भने ८ किलो फोहोर ल्याए पुग्ने व्यवस्था राखियो । उत्पादन हुने फोहोरभन्दा कम मात्रा अनिवार्य गरिनु नै यो प्रणालीको मूल कमजोरी भएको सरोकारवालाहरूको निष्कर्ष छ । यसले आरोहीलाई ‘न्यूनतम पुर्याए पुग्छ’ भन्ने मानसिकता विकास गरायो । जसको प्रत्यक्ष असर माथिल्लो क्याम्पमा देखिएको छ ।
त्यसमाथि, खुम्बु आइसफलभन्दा माथिल्लो क्षेत्रमा आरोहीहरूको गतिविधि अनुगमन गर्ने प्रभावकारी संयन्त्र नहुनु अर्को ठूलो समस्या बन्यो । कुन आरोहीले कहाँ कति फोहोर छाड्यो, कति तल ल्यायो भन्ने कुराको प्राविधिक निगरानी सम्भव भएन । परिणामतः धरौटी फिर्ता प्रक्रियाले वास्तविक वातावरणीय सुधारभन्दा बढी औपचारिकता पूरा गर्ने काम मात्र गर्यो ।
यी सबै कारणका आधारमा पर्यटन विभागले यो ‘डिपोजिट–फिर्ता’ प्रणालीलाई असफल घोषणा गर्दै खारेज गर्ने तयारी अघि बढाएको हो । अधिकारीहरूका अनुसार अब फोहोर व्यवस्थापनका लागि नयाँ मोडालिटीमा जानुपर्ने अवस्था आएको छ । जसमा आरोहण अनुमति दिनुअघि नै फोहोर व्यवस्थापन योजना अनिवार्य गर्ने, शेर्पा र गाइडमार्फत माथिल्लो क्याम्पबाटै फोहोर झार्ने स्पष्ट जिम्मेवारी तोक्ने तथा आधुनिक ट्र्याकिङ र निगरानी प्रणाली प्रयोग गर्ने विकल्पहरूबारे छलफल भइरहेको छ ।
सगरमाथा नेपालको पहिचान मात्रै नभएर विश्वकै साझा प्राकृतिक सम्पदा भएकाले फोहोरको समस्या अब ‘आन्तरिक’ विषयमा सीमित नरहेको सरोकारवालाहरू बताउँछन् । ११ वर्षसम्म प्रयोग गरिए पनि व्यवहारमा असफल सावित भएको यो प्रणालीको अन्त्यसँगै अब सरकारले ल्याउने नयाँ र प्रभावकारी नीतिबाट सगरमाथाको भविष्यसहित नेपालको पर्यावरणीय जिम्मेवारीलाई पनि परिभाषित गर्ने अपेक्षा छ ।

























