
काठमाडौं । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ तयारीलाई तीव्रता दिएको छ । आयोगले सुरुमा समानुपातिक र त्यसपछि प्रत्यक्षतर्फका मतपत्र छाप्ने तयारी गरिरहेको छ ।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिने छ । आयोगले यसअघि नै पुस १६ गतेदेखि मतपत्र छापाइ प्रक्रिया सुरु गर्ने तालिका तय गरेको थियो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार समानुपातिकतर्फ भाग लिन इच्छुक ५८ दल र तिनीहरूसँग सम्बन्धित ६४ चुनाव चिह्न निश्चित भइसकेको छ । त्यसैले प्रारम्भमा समानुपातिकको मतपत्र छापिने काम सुरु गरिने छ ।
निर्वाचन आयोगले १ करोड ९० लाख ५ हजार ३ सय २४ मतदाताको नामावली संकलन र अद्यावधिक गरिसकेको छ । आयोगको नीति अनुसार समानुपातिक मतपत्र हरेक निर्वाचन क्षेत्रको कुल मतदाताको १० प्रतिशत बढी छापिने छ । समानुपातिक मतपत्र छपाइ कार्य २०–३० दिनभित्र सम्पन्न हुने अनुमान छ ।
समानुपातिक मतपत्र छापिसकेपछि प्रत्यक्षतर्फका मतपत्र छाप्ने काम सुरु हुनेछ । प्रत्यक्षतर्फको मतपत्र प्रत्येक निर्वाचन क्षेत्र अनुसार फरक हुने छ । किनभने क्षेत्र अनुसार दलको सहभागिता र चुनाव चिह्न फरक–फरक हुने भएकाले मतपत्र पनि त्यसैअनुसार छापिने हो । सहायक प्रवक्ता जीसीले भने, ‘प्रत्यक्षतर्फको मतपत्र छापाइ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मात्र सुरु हुनेछ ।’
निर्वाचन आयोगले मतपत्र छपाइमा सुरक्षा र गोपनीयता कायम राख्न विशेष सतर्कता अपनाउने जनाएको छ । मतपत्र तयार भएपछि मात्र निर्वाचन प्रक्रिया पूर्ण रूपमा अगाडि बढ्नेछ ।

























