कुलमानलाई रास्वपाको उपसभापति बनाइएपछि एमालेको कडा प्रश्न, ‘वैकल्पिक राजनीति यही हो ?’

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १५, मंगलबार ११:४६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऊर्जामन्त्री कुलमान घिसिङलाई पार्टीको पहिलो वरीयताको उपसभापति बनाउने निर्णय सार्वजनिक भएको केही समयमै नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ ।

यस निर्णयलाई लिएर नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गम्भीर प्रश्न उठाउँदै रास्वपाको राजनीतिक दाबी र व्यवहारबीच विरोधाभास देखिएको टिप्पणी गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै गैरदलीय चुनावी सरकारका मन्त्रीका रूपमा कार्यरत व्यक्तिले राजीनामा नदिई राजनीतिक दलको उच्च पद स्वीकार्नु कति उपयुक्त हुन्छ ? भन्ने प्रश्न उठाएका हुन् ।

वैकल्पिक शक्तिको रूपमा आफूलाई प्रस्तुत गर्ने दलले अपनाएको यो अभ्यासले राजनीतिक मर्यादा र सिद्धान्तमाथि प्रश्न खडा गरेको उनको संकेत छ । रवि लामिछाने नेतृत्वको रास्वपाले ऊर्जामन्त्री घिसिङसँग सोमबार सहमति गरेको थियो । उक्त सहमतिपत्रमा घिसिङलाई पार्टीको पहिलो वरीयताको उपसभापतिको हैसियतमा उल्लेख गरिएको छ ।

सहमति सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा यसको अर्थ र असरबारे चर्चा चुलिएको छ । विशेषगरी मन्त्री पदमा बहाल रहेको व्यक्तिलाई पार्टीको शीर्ष पदमा ल्याउनु दलको घोषित मूल्य र मापदण्डसँग मेल खान्छ कि खाँदैन भन्ने प्रश्न उठ्न थालेको छ ।

एमाले महासचिव पोखरेलले उठाएको प्रश्न व्यक्तिगत आलोचना मात्र नभएर रास्वपाले अघि सारेको ‘वैकल्पिक राजनीति’को अवधारणामाथिको चुनौतीका रूपमा हेरिएको छ । गैरदलीय सरकारको अवधारणाभित्र बसेर काम गरिरहेका मन्त्रीलाई पार्टीको कार्यकारी जिम्मेवारीमा ल्याउँदा शासन प्रणाली र राजनीतिक निष्पक्षतामा असर पर्न सक्ने तर्क पनि सार्वजनिक बहसमा आउन थालेका छन् ।

यस घटनाले एकातिर रास्वपाको संगठन विस्तार र नेतृत्व संरचनाबारे संकेत गर्छ भने अर्कोतिर नयाँ दलहरूले दाबी गर्ने फरक राजनीतिक संस्कार व्यवहारमा कत्तिको लागू हुन्छ भन्ने प्रश्न उठाउँछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.