
विराटनगर । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री ओमप्रकाश अर्यालय विराटनगर आइपुगेका छन् ।
उनी मंगलबार बिहान विराटनगर विमानस्थलमा अवतरण गरेका हुन् । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रणनीति र कोशी प्रदेशको सामग्र सुरक्षा अवस्थाका बारेमा समीक्षा गर्न बुधबार विराटनगरमा सुरक्षा गोष्ठीको आयोजना गरिएको छ ।
गोष्ठीको उद्घाटन गर्ने अघिल्लै दिन गृहमन्त्री अर्याल प्रदेश राजधानी विराटनगर आइपुगेका हुन् । जेनजी आन्दोलनको आवरणमा आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङको मंगलबार दिउँसो उनले स्थलगत निरीक्षण भ्रमण भ्रमण गर्ने छन् ।
गृहमन्त्री अर्याल सुनसरीको चतराधाम पनि पुग्ने कार्यक्रम छ । विराटनगर विमानस्थलमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू कुनै दलमा सहभागी नभएको बताए । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका गृहमन्त्री अर्यालले आफू कुनै दलमा सहभागी नभएको बताएका हुन् ।
अर्याललाई विमानस्थलमा पत्रकारहरुले सुशासनको कुरा भइरहेको छ अनि सरकारमा बसेका मन्त्रीहरु पार्टी खोलेर हिँडिरहेको भनेर प्रश्न गरेका थिए । प्रश्नको छोटो जवाफ दिँदै उनले भने, ‘म त्यसमा सहभागी भएको छैन । यतिसम्म मात्रै भन्न सक्छु ।’
विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी निर्वाचन केन्द्रित हुने छ । चुनावलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउने विषयमा बैठक केन्द्रित हुने सुरक्षा स्रोतले बतायो ।
गोष्ठीमा गृह मन्त्रालयका साथै नेपाल र सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागकाका उच्च अधिकारीहरू एवं प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरुको उपस्थिति रहने छ । सुरक्षा प्रमुखहरुले आआफ्नो जिल्लाको सुरक्षा अवस्था र चुनौतीका बारेमा ‘ब्रिफिङ’ गर्ने छन् । बैठकले निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा कार्ययोजना पनि बनाउने छ ।
निर्वाचन घोषणापछिको विकसित सुरक्षा परिस्थिति, सीमा क्षेत्रको संवेदनशीलता र जिल्लागत सुरक्षा रणनीतिका विषयमा सुरक्षा प्रमुखहरूले छुट्टाछुट्टै प्रस्तुति दिने बताइएको छ । निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण र सुरक्षा संयन्त्रबीचको समन्वयलाई प्रभावकारी बनाउन तथा निर्वाचन केन्द्रित भएर काम गर्न गृहमन्त्री आर्यालले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिने छन् ।

























