
विराटनगर । उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विलय भएपछि पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले असन्तुष्टि व्यक्त गरेका छन् । पार्टीका संरक्षक कुलमान घिसिङले सल्लाह र छलफल नगरी एकलौटी रूपमा पार्टी विलय गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
पहिचानको आन्दोलन, धर्मनिरपेक्षता र सङ्घीयताको मुद्दालाई मुख्य एजेन्डा बनाउने सर्तमा आफूहरू उज्यालो नेपालमा आबद्ध भएको बताउँदै थेगिमले रास्वपासँगको यो ‘समाहित’ प्रक्रियाले ती मुद्दाहरूलाई अन्योलमा पारेको उल्लेख गरे ।
उनले यसलाई ‘एकता’ नभई ‘विलय’ को संज्ञा दिँदै आफूहरू अहिले बिलखबन्दमा परेको बताएका छन् ।
पहिचानवादी मोर्चाका दुई प्रमुख नेतामध्ये डा. महेन्द्र लावती रास्वपाको समानुपातिक सूचीमा समावेश भइसकेका छन् । तर, थेगिमले भने घिसिङको कार्यशैलीले समग्र पहिचान र धर्मनिरपेक्षता पक्षधरहरूलाई अलमलमा पारेको दाबी गरे । आफूहरू आगामी राजनीतिक बाटोबारे छलफलमा रहेको थेगिमले जानकारी दिए ।
























