राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १६, बुधबार ०७:१२

काठमाडौं । निरङ्कुश पञ्चायती व्यवस्थाको कठोर दमनबीच राष्ट्रियताको रक्षा र राजनीतिक निकासको खोजीका लागि स्वदेश फर्किएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ऐतिहासिक निर्णयको स्मरणमा आज (बुधबार) देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ ।

आफ्नो जीवन नै दाउमा राखेर बीपीले अघि सारेको उक्त नीतिले नेपालको राजनीतिक इतिहासमा दूरगामी प्रभाव छाडेको मानिन्छ । विक्रम संवत २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी लगायतका नेता कार्यकर्ता करिब ८ वर्ष लामो निर्वासित जीवन त्याग गरी राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।

त्यसबेला बीपी कोइरालामाथि अदालतमा ८ वटा मृत्युदण्डसमेत हुन सक्ने मुद्दा चलिरहेका थिए । यति गम्भीर जोखिम हुँदाहुँदै पनि उनले राष्ट्रका लागि जीवन अर्पण गर्न तयार भएर स्वदेश फर्कने निर्णय गरेका थिए ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटनालाई नजिकबाट हेरिरहेका बीपी कोइरालालगायतका नेताहरू दक्षिण एसियामा भइरहेको राजनीतिक विखण्डन र अस्थिरताबाट नेपाललाई जोगाउनुपर्ने निष्कर्षमा पुगेका थिए । भारतबाट पाकिस्तान अलग्गिएको, अन्य एसियाली मुलुकहरूमा टुटफुट सुरु भएको सन्दर्भमा नेपालको राष्ट्रियता कमजोर नहोस् भन्ने चिन्ताले नै मेलमिलाप र एकताको नीति जन्मिएको बताइन्छ ।

यही सोचका आधारमा आजभन्दा ४९ वर्षअघि उनीहरू स्वदेश फर्किएका हुन् । यसअघि विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले गरेको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई सिंहदरबारमै करिब ३ महिना नजरबन्दमा राखिएको थियो ।

त्यसै वर्ष फागुन २६ गते उनलाई सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनल हाकिमको निवासलाई पर्खालले घेरेर बनाइएको बन्दीगृहमा सारिएको थियो । लामो समय कारागारमा बिताएपछि विसं २०२५ सालमा उपचारका लागि उनी रिहा भए र भारत गएका थिए । भारतमै रहँदा उनले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक गतिविधि तीव्र पारेका थिए ।

मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते नेपाल फर्कँदा त्रिभुवन विमानस्थलमा ओर्लिने बित्तिकै बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरूलाई पुनः नियन्त्रणमा लिई सुन्दरीजल बन्दीगृह पुर्‍याइएको थियो । पछि विसं २०३४ जेठ २७ गते उपचारपछि फर्किने सर्तमा बीपी कोइरालालाई रिहा गरियो । त्यसपछि उनलाई एकपटक पुनः सुन्दरीजल र त्यसपछि प्रहरी तालिम केन्द्र महाराजगञ्जमा बन्दी बनाइएको थियो ।

२४ रोपनी क्षेत्रफलमा फैलिएको सो बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बीपी सङ्ग्रहालयमा परिणत गरिएको छ । सुन्दरीजलको बन्दी जीवन बीपी कोइरालाका लागि सिर्जनात्मक समय पनि बन्यो । त्यहीँ बस्दा उनले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ आत्मजीवनी तथा जेल जीवनका दैनिकी लेखे । जुन पछि ‘जेल जर्नल’का रूपमा प्रकाशित भयो ।

बन्दीगृहमा बस्नुअघि नै विसं २००८ सालमा प्रकाशित ‘दोषी चश्मा’ कथासङ्ग्रहले उनलाई साहित्यिक क्षेत्रमा पनि स्थापित गरिसकेको थियो । नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रूपमा पनि बीपी कोइरालालाई चिनिन्छ ।

मेलमिलापको नीति लिएर फर्किएपछि पुनः सुन्दरीजलमा बन्दी बनाइएसँगै लेखिएको दैनिकी ‘फेरि सुन्दरीजल’ शीर्षकमा प्रकाशित छ । जसले त्यो कालखण्डको राजनीतिक र मानसिक अवस्थालाई सजीव रूपमा चित्रण गर्छ ।

दिवसको अवसरमा बुधबार नेपाली कांग्रेस तथा त्यसका भ्रातृ र शुभेच्छुक संस्थाहरूले देशभर विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । बीपी सङ्ग्रहालयले पनि विशेष कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

यद्यपि, प्रत्येक वर्ष पुस १६ गते मनाइने यो दिवस औपचारिक कार्यक्रममै सीमित हुने गरेको छ । यसको मर्म र राजनीतिक सन्देश व्यवहारमा लागू नगरिएको भनेर आलोचना पनि हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.