
काठमाडौँ । आगामी २१ फागुन २०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरिएका करिब ११ हजार मतदानस्थलमध्ये एकतिहाइलाई सुरक्षाका दृष्टिले ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार ३ हजार ६ सय ८० मतदानस्थललाई अति संवेदनशील, ४ हजार ४ सय ४२ लाई संवेदनशील र २ हजार ८ सय ४५ स्थललाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ । सातवटै प्रदेशमा सुरक्षा गोष्ठी सकिएपछि यो सूचीमा केही थपघट हुन सक्ने मन्त्रालयले जनाएको छ ।
सरकारले निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र ‘निर्वाचन प्रहरी’ गरी कूल सवा ३ लाख सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । जसमा नेपाली सेनाका ७९ हजार ७ सय २७, नेपाल प्रहरीका ७१ हजार ६ सय २०, सशस्त्र प्रहरीका ३५ हजार १ सय १६ र अनुसन्धान विभागका १ हजार ९ सय जनशक्ति खटिनेछन् । त्यस्तै करिब १ लाख ४७ हजार निर्वाचन प्रहरीलाई ४० दिनको कार्यअवधि तोकेर भर्ना गर्ने तयारी गृह मन्त्रालयले गरेको छ ।
२०७९ को निर्वाचनको तुलनामा यसपटक ७५ मतदानस्थल र ८ सय ७५ मतदान केन्द्र थपिएका छन् । अघिल्लो निर्वाचनमा १ करोड ७९ लाख मतदाता रहेकामा यसपटक सवा ९ लाख मतदाता थपिएर कूल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ पुगेका छन् । थपिएका मतदाताको अनुपात मिलाएर मतदानस्थल र केन्द्र विस्तार गरिएको निर्वाचन आयोगले जनाएको छ ।
सरकारले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरिसकेको छ भने बुधबार विराटनगरमा कोशी प्रदेशस्तरीय गोष्ठी आयोजना गरिएको छ । मधेस र बागमती प्रदेशको गोष्ठीपछि केन्द्रीय सुरक्षा समितिमार्फत पुनः समीक्षा गरी निर्वाचन आयोगसँग अन्तिम छलफल गर्ने कार्यतालिका रहेको छ । राजनीतिक दलहरूबीचको प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सीमा क्षेत्र र भौगोलिक विकटतालाई आधार मानेर सुरक्षा संवेदनशीलताको विश्लेषण गरिएको गृह मन्त्रालयको भनाइ छ।

























