
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको एकता र आत्मविश्वास मजबुत बनाउन पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नुपर्नेमा जोड दिएका छन् । ४९ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
महामन्त्री थापाले कांग्रेसको आत्मविश्वास पार्टी एकताबाट मात्र सम्भव हुने उल्लेख गर्दै फरक विचार व्यक्त गर्न सकिने साझा मञ्चको रूपमा विशेष अधिवेशन अपरिहार्य रहेको स्पष्ट पारे । विधानअनुसार मात्र नभई पार्टीको राष्ट्रिय जिम्मेवारी पूरा गर्न पनि यो कदम आवश्यक भइसकेको उनको तर्क छ ।
सामाजिक सञ्जालमा धारणा राख्दै थापाले लेखेका छन्, ‘कांग्रेसले उत्तरदायित्व बोधका साथ राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ । यो आत्मविश्वास एकताबाट आउँछ र एकता निषेधबाट होइन, भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र सम्भव हुन्छ। ‘
उनले पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकताका लागि अनिवार्य बनेको दाबी गरे । थापाले सबै कांग्रेस कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै मेलमिलाप दिवसको शुभकामना समेत व्यक्त गरे ।
























