राप्रपा र राप्रपा नेपालबीच एकता: लिङ्देन अध्यक्ष, चुनाव चिन्ह हलो नै रहने

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १६, बुधबार १४:४२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच औपचारिक रूपमा पार्टी एकीकरण भएको छ । बुधबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै एकताको घोषणा गरिएको हो । सहमति पत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन् ।

एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहनेछ भने नेतृत्व राजेन्द्र लिङ्देनले नै गर्ने सहमति भएको छ । यसैगरी पार्टीको विधान, झण्डा र चुनाव चिन्ह साविकको राप्रपाकै अर्थात् ‘हलो’ कायम रहने तय भएको छ ।

दुई पार्टीबीचको एकीकरण पछि राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित ‘सम्बर्धनवाद’ लाई नै वैचारिक दर्शन मानिने भएको छ । यस दर्शनले सबै धर्मका बीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई मार्गदर्शक सिद्धान्तका रूपमा अघि सारेको छ ।

संगठन समायोजनका सम्बन्धमा भएको सहमति अनुसार राप्रपाको २०७८ को महाधिवेशनबाट निर्वाचित भएर हाल राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीमा सोही पदमा कायम गरिनेछ । राप्रपा नेपालका अन्य पदाधिकारी र सदस्यहरूलाई सहमतिका आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिने उल्लेख छ ।

जिल्ला तथा स्थानीय तहका संरचनाहरूलाई पनि २०७८ को महाधिवेशनको समयमा कायम रहेका समितिलाई आधार मानी सम्मानजनक ढंगले समायोजन गरिनेछ। राप्रपा नेपालका जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरूलाई पनि राप्रपाका सम्बन्धित संगठनहरूमा समायोजन गर्ने सहमति भएको छ। एकीकृत पार्टीमा कमल थापाको विशिष्ट भूमिकाबारे भने सहमति पत्रमा केही खुलाइएको छैन ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.