
विराटनगर । मोरङबाट ५ सयभन्दा बालिका बेपत्ता भएका छन् । पछिल्लो डेढ दशकमा मोरङबाट ५ सय ६४ जना बालिका बेपत्ता भएका हुन् ।
माइती नेपाल विराटनगरले पत्रकार सम्मेलन गर्दै पछिल्लो डेढ दशकमा मोरङबाट बालिका हराउनेको संख्या धेरै भएको जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा माइती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले सन् २०१० देखि २०२५ सम्मको अवधिमा ६ सय ७१ बालिका बेपत्ता भएको जानकारी दिए ।
उनका अनुसार बेपत्ता भएका मध्ये १ सय ७ जना फेला परेका छन् । हराउने र फेला परेको तथ्यांक माइती नेपालमा परेको उजुरीका आधारमा हो ।
सन् २०२५ मा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध माइती नेपाल विराटनगरले गरेको कार्यको तथ्यांक सार्वजनिक गर्दै मोरङबाट ४७ जना बालिका बेपत्ता भएको बताइएको छ । बेपत्ता भएका मध्ये १३ जना फेला परेको बताउँदै, संयोजक पोखरेलले भने, ‘मोरङमा पछिल्लो ९ वर्षपछि धेरै संख्यामा बालिका बेपत्ता भएका छन् । सन् २०१६ मा ७० जना बालिका बेपत्ता भएको संख्या १५ वर्षको अवधिकै अधिक हो । सबैभन्दा कम सन् २०२२ मा १ जना मात्रै बालिका बेपत्ता भएका थिए ।’
१५ वर्षको अवधिमा सीमा नाकाबाट १ हजार ६ सय ५४ जनाको उद्धार गरिएको थियो भने सो अवधिमा ५३ वटा जबरजस्ती करणीका घटनाको निवेदन माइती नेपाल विराटनगरमा परेको थियो । मानव बेचबिखनका १५ वटा मुद्दा दर्ता भए पनि पछिल्लो ५ वर्षदेखि मानव बेचबिखन मुद्दा दर्ताको घटना शून्य अवस्थामा रहेको पोखरेलले बताए ।
सन् २०२५ मा मात्रै मोरङसहित १९ जिल्लाका १ सय ८ जनालाई उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ ।
मोरङ, सुनसरी, झापा, उदयपुर सप्तरी, पाँचथर, धनकुटा, तेह्रथुम, इलाम, ताप्लेजुङ, ओखलढुंगा, नुवाकोट, भक्तपुर, खोटाङ, अर्घाखाँची, संखुवासभा, दाङ, सिरहाकाहरु मोरङको रानी–जोगबनी नाका हुँद जान लाग्दा उद्धार गरिएका थिए । उद्धार गरिएका मध्ये ७६ जना १८ वर्ष उमेरभन्दा माथि र ३२ जना १८ वर्षभन्दा मुनिका रहेको संयोजक पोखरेलले बताए ।
पछिल्लो १ वर्षमा भारतबाट २ जना बालिकाको उद्धार, घरेलु हिंसाको घटनामा ५४ जना पीडित भएको मनोपरामर्शकर्ता गीताञ्जली शर्माले जानकारी दिइन् । उनका अनुसार सन् २०२५ मा उद्धार गरिएका १ सय ८ जनामध्ये कामको खोजीका लागि भारत जान लागेका ४१ जना, साथी आफन्तहरूको लहैलहैमा १९ जना, घुम्न भनी हिँडेका १ जना, सामाजिक सञ्जालमार्फत प्रलोभनमा परी ११ जना, प्रेम विवाहको प्रलोभनमा परी २१ जना, पारिवारिक बेमेलका कारण ९ जना र नेटवर्किङ व्यापारको प्रलोभनमा परेका ६ जना रहेका छन् ।
माइती नेपालले मानव बेचबिखन तथा नियन्त्रणका लागि स्थानीय तहमा मानव बेचबिखनविरुद्ध समिति गठन गरेर काम गरिरहेको छ । जस अनुसार जहदा गाउँपालिका, ग्रामथान गाउँपालिका, विराटनगरको ८, १३, १५ र १६ नम्बर वडामा सञ्जाल समूह गठन गरी काम भइरहेको छ ।
मोरङको रानी–जोगबनी, दरैया, इस्लामपुर, मटेरुवा, बुधनगर, आईसीपी, सिक्टी र कुवाडी नाका बढी प्रयोगमा रहेको पाइएको छ ।

























