
विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालकको मृत्यु भएपछि स्थिति नियन्त्रण लिन सकस भएको छ । घटनापछि आक्रोशित स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्गको लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन सुरु गरेका छन् ।
बिहीबार बिहान करिब १ बजे कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ) को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । साहलाई दुई राउन्ड गोली लागेको बताइएको छ ।
प्रहरीको गोलीबाट साहको मृत्यु भएपछि बिहानैदेखि स्थानीयले लौकही क्षेत्रमा सडक अवरुद्ध पारेका छन् । प्रदर्शनकारीहरूले मृतकको शव राजमार्गमै राखेर सशस्त्र प्रहरीको विरोधमा नाराबाजी गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार राजमार्ग अवरुद्ध हुँदा सयौँको संख्यामा सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् । ूमोटरसाइकल मात्रै मुस्किलले आवातजावत भइरहेको छ। ठूला सवारी साधन पूर्ण रूपमा ठप्प छन् ।
शव सडकमा राखेर प्रदर्शन भइरहेकाले लौकही क्षेत्रको अवस्था अहिले तनावग्रस्त छ । स्थानीयले दोषी प्रहरीलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।
प्रशासनले वार्ताका लागि प्रयास गरिरहेको भए पनि प्रदर्शनकारीहरू आक्रोशित रहेकाले स्थिति सहज हुन सकेको छैन। घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

























