इलाम-१ बाट एमालेका ३ जनाको नाम सिफारिस

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १८, शुक्रबार १५:४६

इलाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। एमाले क्षेत्रीय कमिटीको बैठकले प्रत्यक्षतर्फका लागि नेताहरू महेश बस्नेत, काजीमान कागते र दुर्गादेवी भट्टराईको नाम सिफारिस गरेको हो।

सिफारिसमा परेका महेश बस्नेत सोही क्षेत्रका निवर्तमान सांसद हुन् भने काजीमान कागते प्रदेश सभाका पूर्व सदस्य हुन्। यस्तै, दुर्गादेवी भट्टराई स्थानीय राजनीतिमा सक्रिय महिला नेतृ हुन्। क्षेत्रीय कमिटीले सर्वसम्मत रूपमा यी तीन जनाको नाम जिल्ला कमिटीमा पठाएको र अब जिल्ला हुँदै केन्द्रले उम्मेदवारको अन्तिम टुंगो लगाउने एमाले इलामले जनाएको छ।

इलाम क्षेत्र नम्बर १ एमालेका लागि रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र मानिन्छ। यसअघिका निर्वाचनहरूमा तीव्र प्रतिस्पर्धा हुने गरेको यस क्षेत्रमा यस पटक एमालेले आफ्ना पुराना र अनुभवी नेताहरूलाई नै अघि सारेको देखिन्छ।

निर्वाचनको मिति नजिकिँदै गर्दा अन्य राजनीतिक दलहरूले पनि उम्मेदवार छनोटको प्रक्रिया तीव्र बनाएका छन्। एमालेले उम्मेदवार सिफारिस गरेसँगै इलाममा चुनावी चहलपहल र राजनीतिक सरगर्मी बढेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.