
काठमाडौँ । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनको कार्यतालिकालाई लिएर देखिएको तीव्र विवादका बीच कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजेका लागि बोलाइएको बैठक निर्धारित समयभन्दा करिब पौने २ घण्टा ढिलो गरी पौने ५ बजे मात्र सुरु भएको हो।
बैठक ढिलो हुनुको मुख्य कारण महामन्त्री गगन थापाको ढिलाइलाई मानिएको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले केही प्राविधिक कारण र नेताहरूको उपस्थितिका कारण बैठक ढिलो गरी सुरु भएको जानकारी दिए।
महामन्त्रीद्वयको विज्ञप्ति पार्टीभित्रको विवाद तब उत्कर्षमा पुग्यो जब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिले तय गरेको महाधिवेशनको प्रक्रिया स्थगित गरेको घोषणा गरे। संस्थापन पक्षले अघि बढाएको प्रक्रियालाई महामन्त्रीहरूले रोकेपछि पार्टीभित्र ‘कोटरी’ र ‘संस्थापन’ पक्षबीच शक्ति सङ्घर्ष चुलिएको छ।
आजको बैठकमा विशेषगरी महाधिवेशनको नयाँ मिति, विधानको व्याख्या र महामन्त्रीद्वयले चालेको कदमका विषयमा छलफल हुने बुझिएको छ। सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीहरूको कदमलाई ‘पार्टी निर्णय विपरीत’ भएको आरोप लगाएको छ भने महामन्त्री पक्षले ‘विधि र विधान’ को पालना नभएको दाबी गरिरहेको छ।
बैठकले यो विवादलाई कसरी सुल्झाउँछ र १५ औँ महाधिवेशनको भविष्य के हुन्छ भन्नेमा कांग्रेसका कार्यकर्ता र आम राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ।
























