
विराटनगर । नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित ५ जना केन्द्रीय सदस्यहरुलाई शुक्रबार विराटनगरमा एक कार्यक्रमकाबीच सम्मान गरिएको छ ।
एमाले प्रदेशसभा क्षेत्र समन्वय कमिटी मोरङ क्षेत्र नम्बर ४ (ख)को शुक्रबार भएको दोस्रो पूर्ण बैठकका अवसरमा मोरङ भूगोल भएका ५ जना केन्द्रीय सदस्यलाई सम्मानपत्रका साथ सम्मान गरिएको थियो । समन्वय कमिटीका संयोजक मुकेश बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्यहरु जीवन घिमिरे, ऋषिकेश पोखरेल, कृष्ण बस्नेत (पर्शुराम), शिल्पा निराला कार्की र दिलिपकुमार अग्रवाल (बगडिया) सम्मानित भएका हुन् ।
बैठकले क्षेत्र नम्बर ४ (ख)मा रहेका जनवर्गीय संगठनहरुलाई आसन्न निर्वाचनका लागि पार्टीको निर्वाचन लक्षित योजना, विगतमा पार्टीले गरेका कामलगायतका कुरालाई लिएर जनतामाझ जान निर्देशन दिइएको छ । त्यस अवसरमा आगामी निर्वाचनका लागि कस्तो उम्मेदवार बनाउने विषयमा छलफल तथा सबै जनाबाट सुझाव संकलन गरिएको संयोजक बुढाथोकीले जानकारी दिए ।
एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेको प्रमुख आतिथ्यमा बैठक भएको थियो । उक्त बैठकमा मोरङका नवनिर्वाचित केन्द्रीय सदस्यहरुसहित पार्टीको कोशी प्रदेश कमिटी सदस्य फूलथुंगा खतिवडा, विमला घिमिरे दाहाल, नरेन्द्र बस्नेत, जितनारायण सरदार, मोरङ जिल्ला उपाध्यक्ष सागर थापा, मानगढी खानेपानीका अध्यक्ष लालमणि भट्टराई, विराटनगर महानगर समितिका अध्यक्ष बलराम गिरी (नवीन)लगायतको उपस्थिति रहेको थियो ।

























