
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई ६ वटा कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन् । कुपन्डोलमा बसेको ती पार्टीहरूको संयुक्त बैठकले निर्वाचन जनविरोधी भएको ठहर गर्दै बहिष्कारको निर्णय गरेको जनाएका छन् ।
निर्वाचन बहिष्कार गर्ने निर्णय गर्ने दलमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी (नेपाल), नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन् ।
उनीहरूको संयुक्त बैठकले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्न लागेको निर्वाचनलाई अस्वीकार गर्दै वर्तमान सरकारलाई ‘कठपुतली’को संज्ञा दिएको छ । साथै बैठकले वर्तमान सरकार विघटन गरी वैकल्पिक राजनीतिक व्यवस्था अघि बढाउनुपर्ने माग गरेको छ ।
बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान जनविरोधी, अलोकतान्त्रिक तथा कठपुतली सुशीला सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधान निर्माणका लागि संयुक्त संघर्ष अघि बढाउने सार्वजनिक घोषणा गर्दछौँ ।’
६ दलले निर्वाचन प्रक्रियामा सहभागी नहुने स्पष्ट गर्दै आगामी दिनमा संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गर्ने संकेत पनि गरेका छन् ।
























