
काठमाडौँ | नेपाली कांग्रेसको संस्थापन पक्षले बहुमतका आधारमा १५औँ महाधिवेशनको मिति तय गरेपछि डा. शेखर कोइराला पक्ष रणनीति बनाउन छलफलमा जुटेको छ। विशालबजारस्थित कोइरालाको सचिवालयमा अहिले यस समूहको बैठक जारी छ।
बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहित ४० भन्दा बढी केन्द्रीय सदस्यहरू सहभागी छन्। शुक्रबार सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेपछि शेखर समूहले आफ्नो धारणा तय गर्न यो भेला बोलाएको हो।
पार्टीको बहुमतको निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ५ जना नेताले फरक मत राखेका छन्। १४औँ महाधिवेशनमा एकै ठाउँमा रहेका शेखर र गगनबिच अहिले १५औँ महाधिवेशनलाई लिएर सहकार्य देखिएको छैन। महामन्त्री थापाले पुसभित्रै ‘विशेष महाधिवेशन’ हुनुपर्ने अडान राखेपछि कांग्रेसभित्र अन्यौलता थपिएको छ।
विशेष महाधिवेशन वा नियमित महाधिवेशन भन्ने बहसका बिच शेखर समूहको यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ। संस्थापन पक्षको पेलाइ र महामन्त्रीहरूको फरक मतका बिच कोइराला पक्षले कुन बाटो रोज्छ भन्ने विषयले कांग्रेसको आगामी राजनीति तय गर्ने देखिन्छ।
























