पाथीभरा केबलकार निर्माणविरुद्ध पुनः आन्दोलन घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष १९, शनिबार १४:४४

ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको संयुक्त संघर्ष समितिले पुनः आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। ताप्लेजुङको फुङलिङ र ललितपुरमा एकसाथ पत्रकार सम्मेलन गर्दै समितिले पुस २२ गतेदेखि माघ मसान्तसम्मका विरोधका कार्यक्रम घोषणा गरेको हो।

घोषित कार्यक्रम अनुसार पुस २२ देखि विभिन्न जिल्लामा भेला तथा छलफल गरिनेछ भने माघ १२ गते पूर्वी नेपालका मुख्य बजारहरूमा कोणसभा आयोजना गरिनेछ। माघ १६ गते फुङलिङ बजारमा जनप्रदर्शन, १७ गते घाइतेहरूको सम्मान र १८ गते कान्छीथानदेखि मन्दिरसम्म धागो टाँग्ने कार्यक्रम तय गरिएको छ। यस्तै, माघ १९ गते पाथीभरा क्षेत्रमा प्रदर्शन गरी २० गतेदेखि मसान्तसम्म केबलकार खारेजी र मुक्कुमलुङ संरक्षणको मुद्दालाई निर्वाचनको एजेन्डा बनाएर गाउँबस्तीमा अभियान चलाउने समितिले जनाएको छ।

Advertisement

केबलकार खारेजी संयुक्त संघर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले मन्त्रिपरिषद्‍बाटै केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने मुख्य माग राखेका छन्। आन्दोलनको विज्ञप्तिमा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, पहिचानवादी मोर्चा र नागरिक उन्मुक्ति पार्टीसहित ९ वटा राजनीतिक दल र किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा लगायत १५ वटा जातीय तथा सामाजिक संस्थाहरूले हस्ताक्षर गरेका छन्। उनीहरूले केबलकार निर्माणको काम अघि बढे पनि सञ्चालन हुन नदिने चेतावनी दिएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.