
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच चुनावी तालमेलको कसरत तीव्र बनेको छ। निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय नजिकिँदै गर्दा शीर्ष नेताहरूले दुई पक्षीय र बहुपक्षीय छलफललाई घनीभूत बनाएका हुन्।
यसै सिलसिलामा आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डबीच भेटवार्ता भएको छ। भारतको नयाँ दिल्ली प्रस्थान गर्नुअघि प्रचण्डले ओलीसँग राष्ट्रिय सभामा मिल्न सकिने सम्भावनाबारे छलफल गरेका हुन्। शनिबार नै हुने भनिएको यो भेट प्रचण्ड काठमाडौं उत्रिन ढिलो भएपछि आज बिहान मात्र सम्भव भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।
तीनै दल मिलेर चुनाव लडौँ राष्ट्रिय सभाका रिक्त १८ सिटका लागि हुन लागेको निर्वाचनमा नेपाली कांग्रेसले ‘तीन दलीय’ तालमेलको नयाँ प्रस्ताव अगाडि सारेको छ। नेता वर्षमान पुनका अनुसार कांग्रेसले प्रमुख तीन दल मिलेर जानुपर्ने प्रस्ताव राखेको र सोही विषयमा अहिले संवाद भइरहेको छ।
निर्वाचनमा एक्लाएक्लै लड्दा परिणाम अनपेक्षित आउन सक्ने डरका कारण दलहरू सुरक्षित हुन खोजेका हुन्। कांग्रेस र एमाले मिल्दा अन्तरघातको जोखिम रहेको र यी दुईमध्ये जसले नेकपासँग तालमेल गरे पनि अर्को पक्षलाई ठूलो घाटा हुने अवस्था छ।
कांग्रेस नेता रमेश लेखकले पनि दलहरूबीच सघन संवाद भइरहेको स्वीकार गरे पनि अहिले नै निष्कर्षमा नपुगिएको बताए। छलफलमा कांग्रेसका तर्फबाट पूर्णबहादुर खड्का, रमेश लेखक, प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र माओवादीबाट वर्षमान पुन लगायतका नेताहरू सक्रिय छन्।
पुस २३ गते मनोनयन दर्ताको समय तोकिएकाले अबको एक-दुई दिनभित्रै दलहरूले निर्णय लिनुपर्ने दबाब छ। फागुन २० गते कार्यकाल सकिने १९ जना सदस्यमध्ये १८ जनाका लागि निर्वाचन हुन लागेको हो। सातै प्रदेशबाट हुने यो निर्वाचनले राष्ट्रिय राजनीतिको समीकरणमा समेत प्रभाव पार्ने देखिएको छ।
























