
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ। दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार मृतकहरूको पहिचान खुल्न अझै बाँकी छ। घाइते भएका ९ जनामध्ये ३ जनाको अहिले अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डको जुरिखेतमा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनामा ६ पुरुष, १ महिला, १ बालिका र १ बालक घाइते भएका थिए, जसमध्ये ६ जनाको अस्पताल पुर्याएपछि मृत्यु भएको हो। बाँकी ३ जनाको अवस्था र पहिचानबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

























