
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘बृहत राजनीतिक समायोजन घोषणा सभा’ आयोजना गर्दैछ। यस सभामा रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) परित्याग गरेका नेताहरू र थरुहट/थारुवान अभियानका अभियन्ताहरू रास्वपामा प्रवेश गर्ने तय भएको छ।
रञ्जिता श्रेष्ठ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि असन्तुष्ट बनेका रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जना नेता-कार्यकर्ताले सामूहिक राजीनामा दिएर रास्वपा रोजेका हुन्। रास्वपा प्रवक्ता मनिष झाका अनुसार, यो सभाले थारु समुदायका मुद्दा र रास्वपाको वैकल्पिक राजनीतिक शक्तिलाई एकीकृत गर्नेछ।
घोषणा सभा आज दिउँसो १ बजे काठमाडौँको राष्ट्रिय सभा गृहमा हुनेछ। रञ्जिता श्रेष्ठले आफ्नो पार्टीलाई कम्युनिस्ट पार्टीसँग एकता गराएपछि नाउपाका थुप्रै प्रभावशाली नेताहरू रास्वपातिर मोडिएका हुन्, जसले तराई र विशेषगरी थरुहट क्षेत्रमा रास्वपाको प्रभाव बढ्ने अनुमान गरिएको छ।
























