
काठमाडौँ । वैदेशिक रोजगारीका लागि यूके पठाइदिने र आकर्षक तलबको प्रलोभन देखाई लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा प्युठानका ३९ वर्षीय इन्द्र बहादुर केसी, धादिङका ४० वर्षीय आइते तामाङ र काठमाडौँका ३४ वर्षीय विजय गुरुङ रहेका छन्।
पक्राउ परेकामध्ये इन्द्र र आइतेले ७ जना पीडितबाट १३ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई गोंगबुबाट पक्राउ गरेको हो। त्यस्तै, विजय गुरुङले एक जना पीडितबाट ५ लाख रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको आरोपमा उनलाई कुलेश्वर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
थप अनुसन्धानका लागि इन्द्र र आइतेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने विजयलाई वैदेशिक रोजगार विभाग ताहाचल बुझाइएको छ।

























