कांग्रेस विवाद सुल्झाउन कोइराला सक्रिय: मध्यमार्गी विकल्पको खोजीमा नेताहरू परिचालन

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार १३:१९

काठमाडौँ । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन र विशेष महाधिवेशनको विषयलाई लिएर चुलिएको विवाद समाधानका लागि नेता डा. शेखर कोइरालाले मध्यमार्गी विकल्पको खोजी सुरु गरेका छन्। संस्थापन पक्षले नियमित महाधिवेशन सार्ने तयारी गरेपछि महामन्त्रीहरू विशेष महाधिवेशनको पक्षमा उभिएसँगै पार्टीभित्र ध्रुवीकरण बढेका बेला कोइरालाले सहमतिको प्रयास थालेका हुन्।

कोइरालाले सोमबार बिहान बसुन्धरास्थित आफ्नै निवासमा आफूनिकट नेताहरू र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेका सदस्यहरूसँग सघन छलफल गरेका छन्। छलफलमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल तथा हस्ताक्षर अभियानका नेतृत्वकर्ता देवराज चालिसे लगायतको सहभागिता थियो।

बैठकमा सहभागी नेता डा. गोविन्दराज पोखरेलका अनुसार, कोइरालाले विशेष महाधिवेशन पक्षधर साथीहरूलाई कसरी मनाउन सकिन्छ र पार्टीलाई दुर्घटनाबाट कसरी जोगाउन सकिन्छ भन्ने विषयमा चासो राखेका छन्। ;दाइ (शेखर कोइराला) ले अबको बाटो के हुन सक्छ भनेर हामीलाई परिचालन गर्नुभएको छ,; पोखरेलले भने।

नेता कोइरालासँगको परामर्शपछि हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका देवराज चालिसे पुनः आफ्नै समूहसँग आन्तरिक छलफलमा जुटेका छन्। विधानअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने पक्ष र यसको औचित्य समाप्त भइसकेको भन्ने संस्थापन पक्षको अडानका बीच डा. कोइरालाको यो सक्रियतालाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। केही बेरमा दुवै पक्षबीच पुनः संवाद हुने र ठोस मध्यमार्गी प्रस्ताव तयार पारिने बुझिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.