
काठमाडौँ । गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा देशका विभिन्न कारागार र बाल सुधार गृहबाट फरार भएकामध्ये ४ हजार ५ सय ५४ जना कैदीबन्दी अझै फरार छन्। कारागार व्यवस्थापन विभागका अनुसार लामो समय बितिसक्दा पनि उनीहरू अझै कानुनी दायरामा आउन सकेका छैनन्।
विभागको पछिल्लो तथ्याङ्क अनुसार अझै फरार रहेकाहरूमा कारागारका ४ हजार २५० कैदी र बाल सुधार गृहका ३०४ जना रहेका छन्। आन्दोलनको चरम अवस्थामा सुरक्षा कमजोरीको फाइदा उठाउँदै देशभरका कारागारबाट १३ हजार ५ सय ८५ र बाल सुधार गृहबाट ९ सय ७४ गरी कुल १४ हजार ५ सय ५९ जना कैदीबन्दी फरार भएका थिए।
तीमध्ये हालसम्म ९ हजार ९ सय ८६ जना विभिन्न माध्यमबाट कारागार फिर्ता आएका छन्। केहीले स्वेच्छाले आत्मसमर्पण गरेका छन् भने केहीलाई सुरक्षा निकायले पुनः पक्राउ गरी बुझाएको हो। आन्दोलनका क्रममा कारागारबाट भाग्न खोज्दा भएका झडप र अन्य घटनामा परी १३ जना कैदी र ६ जना बाल सुधार गृहका गरी कुल १९ जनाको मृत्यु भएको विभागले जनाएको छ।
सरकारले फरार रहेका बाँकी कैदीबन्दीको खोजीका लागि देशभरका सुरक्षा निकायलाई ‘अलर्ट’ राखेको छ। उनीहरूले सरकारी सेवा प्राप्त गर्न नसक्ने गरी विवरण सार्वजनिक गर्ने र खोजी कार्यलाई थप तीव्र बनाउने तयारी विभागले गरेको छ।

























