कांग्रेस फुटको संघारमा छ, एकताको विकल्प छैन : सांसद मानबहादुर लिम्बू

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार १७:४८

विराटनगर । कोशी प्रदेशका सांसद मानबहादुर लिम्बूले नेपाली कांग्रेस गम्भीर संकटमा परेको भन्दै पार्टी एकताको अपरिहार्य आवश्यकतामा जोड दिएका छन् । विराटनगर वडा नं. ८ मा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले पार्टीभित्रको आन्तरिक विवाद, गुटगत राजनीति र नेतृत्वबीचको अविश्वासका कारण कांग्रेस फुटको संघारमा पुगेको टिप्पणी गरे ।

लिम्बूले कांग्रेसको ऐतिहासिक योगदान ठूलो भए पनि पछिल्लो समय देखिएको कलहले जनताको भरोसा गुम्दै गएको बताए ।

समयमै आत्मसमीक्षा गरी एकताको बाटो नसमाते पार्टीको भविष्य नै गम्भीर संकटमा पर्न सक्ने चेतावनी दिँदै उनले विचारको विविधतालाई व्यक्तिगत स्वार्थ र गुटबन्दीमा सीमित नगर्न नेतृत्वलाई आग्रह गरे । नेतृत्व चयन, सरकार सञ्चालन र टिकट वितरण जस्ता विषयमा देखिएका कमजोरीले इमानदार कार्यकर्तामा निराशा बढेको र यसको प्रत्यक्ष फाइदा विपक्षी दललाई पुगेको उनको भनाइ छ ।  उनले भने,”पार्टी ऐतिहासिक त छ, तर आन्तरिक कलहले जनताको भरोसा कमजोर बन्दै गएको छ । यदि समयमै आत्मसमीक्षा र एकता नगर्ने हो भने कांग्रेसको भविष्य संकटमा पर्न सक्छ ।”

सांसद लिम्बूले पार्टी सत्तामा रहँदा समेत जनअपेक्षा अनुसार काम हुन नसकेको स्वीकार गर्दै नेताहरूलाई व्यक्तिगत अहंकार र कुर्सीको मोह त्यागेर देश र संगठनलाई प्राथमिकता दिन सुझाव दिए । उनले समस्याबाट भागेर नभई आन्तरिक संवाद र विशेष बैठकको माध्यमबाट सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । देशको वर्तमान राजनीतिक र आर्थिक चुनौती सामना गर्न पनि लोकतान्त्रिक शक्ति कांग्रेस एकताबद्ध हुनुपर्ने भन्दै उनले पार्टी जोगाउने जिम्मेवारी सबै नेता–कार्यकर्ताको भएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.