
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज (मंगलबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) बीच आफ्ना वर्तमान मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउने समझदारी भएपछि आजै नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुन लागेको हो।
नयाँ मन्त्रीहरूको शपथका लागि प्रदेश प्रमुखसँग आज बेलुका साढे ४ बजेको समय लिइएको छ। सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले नयाँ नियुक्तिअघि आजै सबै मन्त्रीहरूले राजीनामा दिने जानकारी दिए।
एमालेका तर्फबाट विदुर लिङथेपलाई आर्थिक मामिला तथा योजना, चिन्तन पाठकलाई खानेपानी सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र रामप्रसाद महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ। साथै उमाकान्त गौतमलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ।
त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट प्रदीप सुनुवारलाई भौतिक पूर्वाधार, भीम पराजुलीलाई पर्यटन वन तथा वातावरण, मानबहादुर लिम्बूलाई स्वास्थ्य र इस्राइल मन्सुरीलाई उद्योग कृषि तथा सहकारी मन्त्री बनाइँदैछ। कांग्रेसबाटै शोभा चेम्जोङलाई राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी छ।
यसअघि एमालेबाट रेवतीरमण भण्डारी, राम राना, एकराज कार्की, पाँचकर्ण राई र राज्यमन्त्री सिर्जना राई सरकारमा सहभागी थिए। कांग्रेसबाट भने भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डल र उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम मन्त्रीका रूपमा रहेका थिए। निर्वाचनको मुखमा दुवै दलले आफ्ना मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै प्रदेश राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ।
























